STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वस्थ्य संस्थामा सुत्केरी भए ः आयोडिनयुक्त नुनसहित खानेतेल

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ७, बिहिबार

कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको हो । सरकारले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँदा यातायात खर्च दुई हजार र चारपटक गर्भ जाँच गराउँदा थप रु ८०० भत्ता दिने गरेको छ । नलगाड नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई थप रु एक हजार भत्ता दिने गरेको छ । भत्ताका साथै नगरपालिकाले सुत्केरी महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजी, साबुन, ब्रस, पेन्टी, प्याड, न्यानो कपडालगायतका सामग्री दिने गरेको छ । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजीसहित विभिन्न सामग्री उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । नलगाड नगरपालिका–३ की २५ वर्षीया वृहस्पती पुनले चारपटक नियमित गर्भ जाँच, सुत्केरी हुन स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुनुभयो । उहाँले एकमुष्ट रु तीन हजार ८००, डेढ लिटर तेल, नुन र अन्य सामग्री पाएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निममित गर्भ जाँच गराउँदा बच्चा बढे÷नबढेको, उल्टो, सुल्टो अवस्था आदिका बारेमा जानकारी हुन्छ र ढुक्क होइन्छ ।” पहिलोपटक गर्भवती हुँदा नियमित गर्भ जाँच नगर्दा र घरमै असुरक्षित तरिकाले सुत्केरी हुँदा निकै दुःख पाएपछि आफू यसपटक झन् सचेत भएको उहाँले जानकारी दिनुभयो । पहिलोपटक सुत्केरी ब्यथा लागेको दुई दिनसम्म पनि बच्चा नजन्मेपछि सदरमुकाम खलङ्गा गएर बच्चा जन्माएको पीडा उहाँसँग ताजै छ । नलगाड नगरपालिका–३ कै १८ वर्षीय कमला घर्तीले पनि चारपटक नियमित गर्भ जाँच गराएको बताउनुभयो । पहिलोपटक गर्भवती हुँदा उहाँ नजिकैको कैन स्वास्थ्य केन्द्रमा गएर सुत्केरी हुनुभयो । कमलाले भन्नुभयो, “शुरुमा डर लागेको भएपनि स्वास्थ्य संस्था गएर सुत्केरी हुँदा मलाई सुरक्षित महसुस भयो ।” केही वर्ष पहिलेसम्म घरमै भगवान् भरोसामा सुत्केरी हुने महिला अहिले सबै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन् ।” उहाँले पनि सङ्घीय यातायात खर्च, स्थानीय सरकारको सुत्केरी भत्ता र तेलका साथै अन्य सामग्री पाउनुभयो । उहाँले सुत्केरीलाई भत्ता दिन थालेकोमा खुशी व्यक्त गर्दै दुवै सरकारलाई धन्यवाद दिनुभयो । सङ्घीय र स्थानीय दुवै सरकारले भत्ता दिन थालेपछि धेरैजसो गर्भवती महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको स्वास्थ्यचौकी कैनाका रामेश्वर रानाले बताउनुभयो । नलगाड नगरपालिका–३ का कैना, टट्टा, चाउलेचौर र करुवागाउँका स्थानीयवासी यस स्वास्थ्य संस्थाका सेवाग्राही हुन् । वडा नं ३ मा गत आर्थिक वर्षमा सुत्केरी भएका ५४ महिलामध्ये ५१ जना यसै स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्यचौकीका रानाले बताउनुभयो । अन्य तीन जना जिल्ला अस्पतालमा गएर सुत्केरी भएको उहाँको भनाइ छ । “घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिएका थियौँ, सफल भयाँै ।” विभिन्न आमसञ्चारका माध्याम, आमा समूह, विद्यालय, घरदैलो अभियान आदिबाट सुरक्षित तरिकाले सुत्केरी हुँदा हुने फाइदा र असुरक्षित तरिकाले घरमै सुत्केरी हुँदा हुने ज्यानकै जोखिमका बारेमा जनचेतना फैलाइएपछि महिलाहरु आफ्नो स्वास्थ्यप्रति सचेत भएका हुन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा शिशु मृत्युदर र मातृ मृत्युदर पनि ह्वात्तै घटेको स्वास्थ्यकर्मीको भनाइ छ ।
Categorized in राष्ट्रिय