दिवङ्गत श्रीमतीको स्मृतिमा सिरहाको गोलबजार नगरपालिका–३ निवासी प्रेमबहादुर स्याङ्वाले स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गादान दिनुभएको छ । गोलबजार नगरपालिका–३ मुसहर्निया निवासी ७१ वर्षीय स्याङ्वाले दुई वर्षअघि निधन भएकी श्रीमती बेलकुमारीको स्मृतिमा मुसहर्नियामा स्वास्थ्यचौकी तथा वर्थिङ सेन्टर ९प्रसूतिगृह० निर्माण गर्न आफ्नो नाममा रहेको आठ कट्ठा दुई धुर जग्गा दान गर्नुभएको हो । उक्त जग्गाको मूल्य करीब रु २४ लाख बराबरको रहेको जनाइएको छ । गाउँमै उपचार नपाएर आफूले आमा गुमाउनु परेकाले अब कसैले पनि आमा गुमाउन नपरोस् भनेर जग्गादान गर्न बुबालाई सघाएको स्याङ्वाका छोरा सोमबहादुरले बताउनुभयो । स्वास्थ्य संस्थालाई प्राप्त भएको जग्गामा चाँडै वर्थिङ सेन्टर ९प्रसूतिगृह०सहितको स्वास्थ्यकेन्द्र निर्माण प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष धनप्रसाद तामाङले जानकारी दिनुभयो ।