स्विमिङ पुलमा डुबेर युवकको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ४, शनिबार
काठमाडौं - भैरहवामा एउटा होटलद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर एक जना युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा शिद्धार्थनगर नगरपालिका–६ बस्ने २७ वर्षीय सुमित तुलाधर रहेका छन् ।
शुक्रबार साथीहरुसँगै पौडी खेल्न होटलमा पुगेका तुलाधर साँझ ५ः१५ बजेतिर स्विमिङ पुलमा डुबेका थिए । उद्धार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पौडेलले बताए ।
त्यहाँ डुबेर मृत्यु हुने तुलाधर पहिलो भने होइनन् । स्थानीय तह निर्वाचनको केही दिनअघि शिद्धार्थनगर –६ किशोरपुरका अर्का युवकको पनि सोही स्विमिङ पुलमा डुबेर मृत्यु भएको थियो । तर उक्त घटनालाई दबाइएको होटल स्रोतले बतायो ।
पौवामा बालबालिका र वयस्कका लागि अलग–अलग स्विमिङ पुल रहेको छ । एउटा पोखरी पनि होटल परिसरमै रहेको छ ।
Categorized in अपराध-दुर्घटना

