हतारमा लकडटाउन नहटाऔं : विश्व स्वास्थ्य संगठन
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार
काठमाडौं (एजेन्सी) – विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमण रोक्न विश्वभरि चलाइरहेको लकडाउनलाई हतारमा नहटाउन आह्वान गरेको छ । हतार गरी हटाइएमा यसले मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी पनि संगठनले दिएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताएका छन् ।
जेनेभामा एक पत्रकार सम्मलेन आयोजना गरी टेड्रोसले भने, ‘हामी संसारभरीको सरकारसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेका छौं । यसमा हतार गरिनु हुँदैन । हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्छ ।’
युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाइ गरेका थिए । यद्यपि, यहाँ लकडाउन अहिले पनि जारी छ । संसारभरी कोरोनाभाइरसको कूल १६ लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
Categorized in अन्तर्राष्ट्रिय