STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हराए कुवा चर्चामा मात्रै सीमित

Janjati Khabar | २०७८ चैत्र ९, बुधबार

कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो । पालो पु¥याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे । विशेष गरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्दथ्यो ।

 विगत सम्झदै शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मानबहादुर चौधरीले भन्नुभयो, “कुवा एका देशको कथा जस्तै भएको छ, गाउँमा रहेका कुवा हेण्डपम्प गाडने कार्य हुन थालेपछि हराउँदै गए, बुढापाकाको कथा कहानी र भनाइमा मात्रै कुवाको चर्चा मात्रै सुन्न पाइने गरेको छ ।” उहाँका अनुसार गाउँका जमिन्दारका घरमा मात्रै व्यक्तिगत कुवा हुन्थ्ये । पूरै गाउँका लागि एउटै कुवा हुन्थ्यो । गाउँका सबैले मिलेर वर्षमा एक पटक कुवा सफा गर्दथे ।

कुवामा पानी भर्नेको लर्को लाग्ने भएकाले पालो नआउँदासम्म गाउँका बासिन्दा जमघट हँुदा निकै रमाइलो हुने गर्दथ्यो । सुख दःुखका कुरासँगै गाउँका विकास र सामाजिक कार्यका बारे चर्चा हुने गर्दथ्यो । आजभोलि जस्तो सञ्चारका माध्यम थिएनन् । एउटै सञ्चारको माध्यमका रुपमा रेडियो हुन्थ्यो । रेडियो पनि थोरैका घरमा हुन्थे । रेडियो ल्याएर पानी भर्न आउनेले सबैलाई गीतसँगै समाचार सुनाउने गर्दथे । पानी भर्न आएका रेडियो सुन्नकै लागि कुवा भएको क्षेत्रमा निकै वेर बस्ने गरेका थिए ।

 विसं २०३२ अघि स्थानीय बासिन्दाले काठको ढुङग्रो राखेर कुवा बनाउने गर्दथे । केहीले खोलाको पानी पिउनका लागि प्रयोग गर्दथे । “आजभोलि जस्तो खोला दुषित थिएनन्”, लक्ष्मण डगौराले भन्नुभयो, “खानेपानी, लुगा धुन, बस्तु भाउलाई पानी खुवाउन खोलाकै पानी प्रयोग हुन्थ्यो, कुवा त थोरैका घरमा हुन्थ्यो, कुनै गाउँमा त एउटा मात्रै कुवा हुन्थ्यो, त्यसकाबाटै खानेपानीको व्यवस्था हुन्थ्यो ।”

वैशाख जेठका बेला कुवा सुक्ने भएकाले धेरैले खोलाकै पानी प्रयोगमा ल्याउने गरेको उहाँको भनाइ छ । “कुवाको पानी चिसोमा गरम र गर्मीमा चिसो हुने गर्दथ्यो, कुवाको गहिराइ १० फिटदेखि ६० फिटसम्म हुने गर्दथ्यो”, स्थानीय मानसिंह भण्डारीले भन्नुभयो, “हालको हेण्डपम्प र ओभरहेड ट्याङ्कीको जस्तो सुरक्षित पानी भने कुवाको हुने गरेको थिएन, वर्षातको पानी कुवामा जम्मा हँुदा निकै दुषित हुने गर्दथ्यो, भ्यागुता, लामखुट्टेलगायत कुवाको पानीमा हुने भएकाले पानीजन्य रोगको प्रकोप त्यस बेला अधिक रहने गरेको थियो ।”

तत्कालीन सरकारले विसं २०३२ मा गाउँ गाउँमा कुवा बनाउनका लागि बजेटको व्यवस्था गरी पक्कि कुवा बनाएको उहाँको भनाइ छ । हाल बस्ती विकाससँगै हेण्डपम्प र ओभरहेड ट्याङ्की निर्माण हुन थालेपछि कुवा हराउँदै गएका छन् । हेण्डपम्प भएका ठाउँका बासिन्दाले फिल्टरको प्रयोग गरी खानेपानी उपभोग गर्दै आएका छन । केहीले विना फिल्टर हेण्डपम्पको पानी प्रयोगमा ल्याउने गरेका छन् । जुन विगतको कुवाको पानीभन्दा निकै सुरक्षित रहेको छ । कुवाको पानी प्रयोग गर्दा हुने पानीजन्य रोगको प्रकोपसमेत विगतको जस्तो नरहेको भण्डारी बताउनुहुन्छ ।

 “महेन्द्रनगर बजारमा थोरैका घरमा मात्रै हेण्डपम्प थिए, विसं २०४० पछि ग्रामीण क्षेत्रमा हेण्डपम्प गाडन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “हेण्डपम्प पाउनका लागि सरकारी निकायमा निकै दौडधुप गर्नु पर्दथ्यो, पञ्चहरुलाई निकै गुहार्नु पर्दथ्यो, हेण्डपम्प पाउनेले आफूलाई निकै सौभाग्यशाली सम्झन्थे ।” ग्रामीण क्षेत्रका केही ठाउँमा हाल ओभरहेड ट्याङ्कीमार्फत खानेपानीको आपूर्ति भइरहेको छ भने बहुसङ्ख्यक व्यक्तिका घरमा कुवाको ठाउँमा खानेपानीका लागि अझै पनि हेण्डपम्पकै प्रयोग हुने गरेको छ ।

 “पहिला कुवा हुनु नै धेरै थियो, त्यसपछि हेण्डपम्पको चलन चलेपछि यसलाईनै धेरैले रुचाए”, स्थानीयवासी तेज शाहले भन्नुभयो, “अब हरेक क्षेत्रमा ओभर हेड ट्याङ्कीमार्फत पानी पु¥याउन थालिएपछि यसलाई नै सुरक्षित मान्न थालिएको छ ।”

Categorized in राष्ट्रिय