STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मेलनमा "चलचित्र उत्सव"

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र ३, आइतबार

हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन अन्तर्गत आयोजना गरिएको"चलचित्र उत्सव" चलचित्र विकास बोर्डको संयोजनमा नेपाल पर्यटन बोर्डमा शुक्रबार  सम्पन्न भएको छ । उक्त उत्सवमा नेपाली "चलचित्रमा भाषा" सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा चर्चित नेपाली उपन्यास "बसाइँ" मा आधारित चलचित्र "बसाइँ" को विशेष प्रदर्शन गरिएको थियो।  

कार्यक्रमको पहिलो चरणमा आयोजित 'चलचित्रमा भाषा' विषयक अन्तरक्रियामा चलचित्रमा प्रयोग गरिने भाषा तथा चलचित्रले भाषाको विकासमा खेल्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। डा. घनश्याम खतिवडाको सहजीकरणमा भएको कार्यक्रममा बरिष्ठ कलाकार हरिहर शर्मा, डा. रमेश भट्टराई र डा. बिन्दु शर्माले धारणा राख्नुभएको थियो । यस अन्तक्र्रियाले नेपाली चलचित्रमा भाषाको विविधता, प्रभाव, र त्यसको सांस्कृतिक सन्दर्भबारे गहिरो विश्लेषण प्रस्तुत गरेको थियो।  

दोस्रो चरणमा लिलबहादुर क्षेत्रीको चर्चित उपन्यास *बसाइँ* मा आधारित चलचित्र "बसाइँ" प्रदर्शन गरियो। उक्त चलचित्रले नेपाली समाजको ऐतिहासिक बसाइँसराइको कथा बोकेको छ, जसले दर्शकमाझ गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ।  

चलचित्र विकास बोर्डले उक्त उत्सवले नेपाली चलचित्रको भाषा, साहित्य, र सांस्कृतिक प्रभावलाई थप उजागर गर्ने विश्वास व्यक्त गरेको छ। साथै, हिमवत्‌खण्ड क्षेत्रका मुलुकहरूसँग नेपाली चलचित्रको सम्पर्क विस्तार गर्ने अवसरका रूपमा पनि यसलाई हेरिएको छ।  

हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन तीन दिनसम्म चल्नेछ, जसमा नेपालसहित भारत, चीन, बंगलादेश, म्यानमार, भुटान, र थाइल्यान्डका प्रतिनिधिहरूले भाग लिनेछन्।

कार्यक्रमलाई हिमवत्‌खण्ड क्षेत्रका  भाषा, संस्कृति, सभ्यता तथा परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान-प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले  आयोजना गरेको हो।

Categorized in सिनेमा