STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेलम्बुमा पर्यटकीय पदमार्ग निर्माण शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १७, मंगलबार

पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ६० किलोमिटर लामो हिमालयन हेलम्बु ग्रेट ट्रेल पदमार्ग निर्माण गर्ने सिलसिलामा हालसम्म १०० मिटरको काम सम्पन्न भएको छ । बहुवर्षीय योजनाअन्तर्गत कूल रु तीन अर्ब बजेट लाग्ने सो योजनाको चालू आर्थिक वर्षभित्र जम्मा १२० मिटर मात्र पदमार्ग निर्माण गर्ने योजना राखिएकामा हालसम्म १०० मिटर सम्पन्न भएको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उक्त कामका लागि प्रदेश नं ३ बाट रु ५० लाख अनुदान निकासा भएको थियो । त्यसैबाट पालिकाकै प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्गको निर्माणकार्य शुरु गरिएको पालिकाका सव–इञ्जिनीयर शेरबहादुर राईले जानकारी दिनुभयो । पहिलो ‘रुट’मार्गअन्तर्गत हाल निर्माण शुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिने छ । त्यसैगरी दोस्रो रुटमा हेलम्बु–६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुङ्गिने कार्यक्रम छ । दुवैतिरबाट शुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अङ्ग्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ । सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने बताइएको छ । कडा चट्टाने ढुङ्गालाई काटेर इँटाको रुपमा तयार गरी निर्माण गरिएकाले एक मिटर पूरा गर्न रु ३० हजार लाग्नुका साथै समय पनि बढी लाग्ने गर्दछ । सिमेन्टको जोडाइमा दुई मिटर चौडाइको सिँढी बनाइएको छ भने दुवैपट्टि ६० सेन्टिमिटर उचाइको पर्खाल निर्माण गरिएको छ । झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिन्छ । हेलम्बुको ढाडेपार्टीभन्दा माथि मानवबस्ती नभएको र प्रायः हिउँले ढाकिने ग्याङजाला पुग्न बस्तीबाट झण्डै दुई दिनको पैदलयात्रा गर्नुपर्ने पालिकाका अर्का सव–इञ्जिनीयर हरिबहादुर श्रेष्ठले बताउनुभयो । रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटक उताबाट एक दिनमै ग्याङजाला पुग्ने भए पनि अति खराब बाटोका कारण उतै फर्किने गरेको बताइएको छ । यदि उक्त गोरेटो बाटोलाई सुधार गरी सहजरूपमा पर्यटकलाई ग्याङजाला हुँदै हेलम्बु घुम्न आउने वातावरण मिलाउन सके विदेशी मुद्रा आर्जनमा थप सघाउ पुग्ने स्थानीयवासीको विश्वास ।
Categorized in राष्ट्रिय