हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार
सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ । लागत अनुमान धेरै भएकाले निर्माणका लागि ‘सस्पेन्सन ब्रिज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
परियोजना प्रतिवेदनअनुसार बञ्जीजम्पको उचाइ १७३ मिटर र झोलुङ्गे पुल ३७० मिटर लामो हुनेछ । बन्न लागेको झोलुङ्गे पुल देशको हालसम्मकै लामो पुल हुने भएकाले प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाका इञ्जिीनियर शेरबहादुर राईले बताउनुभयो । उहाँका अनुसार देशमा हाल २५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन ।हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ । उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने पाँच घण्टा समयसमेत बचत हुने इञ्जिीनियर राईले बताउनुभयो । सो स्थानमा बञ्जीजम्प तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताउनुभयो । सन् १९९८ मा प्रकाशित पर्यटनसम्बन्धी ‘वेभ’ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो २२० मिटर उचाइ बञ्जी दक्षिण अफ्रिकामा छ । त्यसपछि १६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोशी नदीमा विसं २०५६ देखि सञ्चालनमा आएको छ । हेलम्बुमा अब बन्ने बञ्जीको उचाइ भोटेकोशीको तुलनामा १३ मिटर बढीको हुनेछ ।
Categorized in राष्ट्रिय