STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होस्टेलमा बालिका मृत्युको घटना शंकास्पद

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १७, बिहिबार

काठमाडौं– गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।

चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत शालीन १२ फागुनमा सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। उक्त घटनाको सत्यतथ्य छानविन गर्न पोखरेलले माग गरेका हुन्।

मृतक शालीनका बुवा दीपेन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बलात्कारपछि हत्या भएकोसमेत दाबी गरेका छन्। ‘लास झुन्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो,’ उनले भने।

पोखरेलले घटनापछि विद्यालयमा गएर सर्वपक्षीय छलफलपछि मात्रै मुचुल्का गर्न आग्रह गर्दा प्रहरीले विद्यालय परिसरभित्रै भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेकोसमेत दाबी गरेका छन्।

‘म त्यहाँ पुग्नुभन्दा पहिले नै घटना भएको छात्रावासको ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो,’ पोखरेलले भने, ‘शालीनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ।’

बलात्कारपछि हत्या गरिएको आशङ्कापछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरीवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको दीपेन्द्रले बताए।

शालीनकी आमा सगुनले आफूहरूलाई घटनाबारे ढिलो खबर गरेको र उक्त विद्यालय नजिकै बस्ने मृतककी हजुरआमासमेत लाई जानकारी नदिएको बताइन्। 

Categorized in अपराध-दुर्घटना