१५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार
‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो ।
सो अभियानमा ती सडकमा पर्ने नाला सफाइ, बोटबिरुवा गोडमेल र रोपिएका बिरुवा संरक्षण गरिएको थियो । सरसफाइ अभियानका संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामिछानेले बजारमा जथाभावी फोहर फाल्नेलाई अब कारवाही गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “लामो समय भयो हामीले यहाँका सबै सडक, मठमन्दिर, अस्पातल, शिक्षण संस्थालगायत ठाउँ पुगेर सरसफाइ ग¥यौँ, नागरिकलाई सहभागी गरायौँ र धेरै ठाउँमा सफाइ भएको छ तर बजारका केही ठाउँमा अझै अटेर गरेर लुकीछिपी फोहर फाल्ने गरिएकाले अब त्यस्ता व्यक्ति पहिचान गरी कारवाही गर्छौ ।” उहाँले यस अभियानलाई प्रभावकारी बनाउन र बोट बिरुवा रोपी हेरविचार तथा संरक्षण गरी नगरलाई सुन्दर राख्न राससले सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद पनि दिनुभयो ।
सरसफाइ अभियानकर्मी विमल रिजालले यस अभियानले निरन्तरता पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिल्यैजस्तो लाग्छ रासस प्राङ्गणमा पाँच बिरुवा रोपेर र अरनीको मैदानबाट सरसफाइ शुरुवात गरेका थियौँ तर अहिले यहाँसम्म आइपुग्दा सबैले सहयोग गर्नुभएको छ, अब यो अभियानलाई अझै सबै वडामा विस्तार गरिनुपर्छ ।”
राससका शाखा प्रमुख नारायणी रजौरेले नागरिकमा अझै चेतनाको विकास गराउन सबैको सहयोग भएमा यस अभियानले सफता पाउने बताउँदै राससले आजको सरसफाइको नेतृत्व बहन गर्न पाएकामा आभार प्रकट गर्नुभयो । उक्त अभियानमा तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखा, तुलसीपुर उद्योग वाणिज्य सङ्घ, नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक प्रहरी, ज्येष्ठ नागरिक अगुवा, पत्रकारलगायतको सहभागिता थियो ।
Categorized in राष्ट्रिय