STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता’ सम्मेलनको तयारी पुरा

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ जेठ १७, बिहिबार

नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले धर्मादित्य धर्माचार्य ले आफ्नो मातृभाषा नेपालभाषामा पत्रकारिता शुरु गरेर नेपालमा मातृभाषा पत्रकारिता आरम्भ गरेको सय वर्ष प्रवेश गरेको अवसर पारेर प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । यो सम्मेलन यही जेठ १९ र २० गते दुई दिन ललितपुर र भक्तपुर को ठिमिमा हुने भएको छ ।

नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउन यो सम्मेलनको आयोजना गर्न लागेको हो ।

नेपालका विभिन्न भाषाभाषी पत्रकारहरुका साथै भारत, बङगलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता रहने यस सम्मेलनमा भर्चुअल माध्यमबाट समेत सहभागी हुने कुराको जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरेको छ ।

जेठ १९ गते शनिबार स्टाफ कलेज ललितपुरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नहुने सो सम्मेलनमा विभिन्न विषय केन्द्रित प्यानल छलफल हुनेछ भने दोश्रो दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा थिमिमा समापन समारोह हुने छ ।

१०० वर्षअघि नेपालभाषा पत्रिका “बुद्ध धर्म व नेपालभाषा” सम्पादन एवं प्रकाशन गर्नुभएका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य १२२ औं जन्मजयन्ती, ९ औं मातृभाषा पत्रकारिता दिवस तथा नेपालमा पहिलो मातृभाषा नेपालभाषाबाट प्रकाशित “बुद्धधर्म व नेपालभाषा” प्रकाशित भएको १०० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनका साथै बर्ष भरी विभिन्न कार्यक्रम आयोजना हुने पनि आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ , उपाध्यक्षहरु सुनिल महर्जन, सुरेन्द्र भक्त श्रेष्ठ, कोषाध्यक्ष बाबुकाजी सांछे श्रेष्ठ र सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टरका अध्यक्ष राजु लामा लगायतले सम्मेलन बारे प्रष्ट पार्नु भएको थियो ।

सम्मेलनका लागि सार्क जर्नालिष्ट फोरमले विभिन्न देशका प्रतिनिधि पत्रकारहरुको संयोजनमा सहयोग गरेको छ भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघले देशभित्रका विभिन्न मातृभाषी पत्रकारहरुको सहभागिताका लागि संयोजन सहयोग गरेका छ ।

Categorized in राष्ट्रिय