STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ ७, आइतबार

नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यले आफ्नो भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथाको नेपालभाषा अनुवाद  र धर्मश्री मित्रको कथा” समेत समेटेर पुस्तक प्रकाशन गरी नामसंगीति वाचनमा सक्रिय सयौंलाई उपहारस्वरुप प्रदान गर्नुभएको छ । 

शनिवार आयोजित एक समारोहमा सो पुस्तक लोकार्पण गरिएको हो । नामसंगीति वाचन गुरु बज्राचार्यका छोराहरु सुरजबीर बज्राचार्य, संजिववीर, सुदिजवीर तथा बुहारीहरु रमा बज्राचार्य र रिजु बज्राचार्यले सो पुस्तक प्रकाशन गर्नुभएको हो । पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको सो पुस्तकको सम्पादन खेमराज शाक्यले गर्नुभएको हो । 

यस पुस्तकमा प्रसिद्ध बज्राचार्य गुरुजु बद्रिरत्न बज्राचार्यको स्वयम्भू पुराणको षष्टम अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता स्वर्गीय मीनबहादुर शाक्यद्वारा सम्पादित नामसंगीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु बज्राचार्यको संक्षिप्त जीवनी पनि समावेश गरिएको छ । 

सो अवसरमा वाचन गुरु बज्राचार्यका गुरु एवं नेपाल परम्परागत बौद्धधर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यलाई गुरुपूजा गरी सम्मान गरिएको थियो । गुरुको गुणको महिमा वर्णन गरिएको सम्मान पत्र प्रदान गरिएको यस समारोहमा नेपाल परम्परागत बौद्धधर्म संघ, यस संघका महासचिव दिनेश शाक्य तथा सम्पादन खेमराज शाक्यलाई धन्यवाद ज्ञापन–पत्र अर्पण गरिएको थियो । 

बौद्ध अध्येताहरुका अनुसार ११ औं शताब्दीदेखि काठमाडौं उपत्यकामा प्रचलित आर्यनामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रुपमा रहेको छ । हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशी, पूर्णिमाको अवसरमा र गुंला महिनामा भने  नामसंगीति प्रत्येक बहाल, बहिलमा दिनहुँ पाठ गर्ने प्रचलन रहेको छ ।

 यस परम्परामा समर्पितलाई सहजताका लागि पुस्तक प्रकाशन गरिएको बज्राचार्यका जेष्ठ सुपुत्र एवं वरिष्ठ सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो ।

गुरु बज्राचार्य र उहाँकी पत्नी ज्ञानीदेवी बज्राचार्यको गत पुस २८ गते ७७ बर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला पुगेको अवसरमा नेवाः परम्पराअनुसार भीमरथारोहण गरिएको थियो । पाटनस्थित हिरण्यवर्ण महाविहारका वीशस्थविर आःजु चित्रवीर बज्राचार्यले ४ दशकअघिदेखि नामसंगीति वाचन परम्परामा सक्रिय रहँदै आउनु भएको हो । नामसंगीति पर्वको आयोजनासँगै टोलटोलमा नामसंगीति वाचन सिकाउँदै यस परम्पराको प्रवद्र्धनमा गुरु बज्राचार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । 

बज्रपाणी बोधिसत्वले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीतिबारे देशना गर्नुभएको बज्रायानी बौद्धग्रन्थमा उल्लेख गरिएको छ ।

Categorized in साहित्य-कला