STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २३, सोमबार

‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा रहेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थामा आश्रय लिनुभएका वृद्धवृद्धाको भोजन व्यवस्थापन सहज भएको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाकी अध्यक्ष कविता गैह्रेले बताउनुभयो । “संस्थाले शिवपुराण महायज्ञ लगाएर थालनी गरेको वृद्धाश्रम निर्माण कार्यका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगले निर्माण गरेका हौँ”, अध्यक्ष गैह्रेले भन्नुभयो, “देशभरका वृद्धाश्रमको अवस्था हेर्दा निर्माण गर्नुभन्दा पनि सञ्चालनमा कठिनाइ देखिएकाले सहज बनाउन ‘एकदिन एक दाता’ अभियानको शुरुआत गरेका हौँ जसले सञ्चालन कार्य सहज बनाएको छ ।” सोह्र कोठाको सुविधासम्पन्न भवन निर्माण भए पनि वृद्धवृद्धाका लागि आवश्यक पर्ने दैनिक भोजनको व्यवस्थापन गर्न समस्या परेपछि ‘एक दिन एक दाता’ अभियान सञ्चालन गरेसँगै समस्या टरेर गएको अध्यक्ष गैह्रेले बताउनुभयो । “भोजनका लागि आर्थिक अभावले समस्या परेको थियो”, अध्यक्ष गैह्रेले भन्नुभयो, “एक दिन एक दाता अभियानको थालनीसँगै चालू आर्थिक वर्षको हालसम्म ८८ जनाले भोजनका लागि आर्थिक सहयोग गर्नुभएको छ ।” जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता शुभकार्य तथा दिवङ्गत आत्माको पुण्यतिथिका दिनमा कम्तीमा पनि रु छ हजार दिएर यस अभियान सहभागी हुन पाइने नियम बनाएसँगै वृद्धवृद्धाको भोजनलाई सहयोग गर्ने दानवीरको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख सुनिल श्रेष्ठले बताउनुभयो । स्याङ्जा र पाल्पाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा परिचित रामनदीधाममा पितृ कार्य गरी वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई एक दिनको भोजन गराउनका लागि कम्तीमा छ हजारदेखि माथि इच्छाअनुसार दान दिने गरेकाले वृद्धाश्रम सञ्चालन गर्न सहज भएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । “फजुल खर्च तथा तडकभडकसहित जन्मदिन तथा विवाह वर्षगाँठ मनाउनेहरु पनि आजभोलि वृद्धाश्रममा आएर जन्मदिन मनाउने पद्धतिको विकास हुँदै गएको छ”, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “जसले गर्दा वृद्धाश्रममा बस्दै आएका २० वृद्धवृद्धाको भोजन व्यवस्थापन सहज भएको छ ।” स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा, रुपन्देही, गुल्मी नवलपरासीलगायत जिल्लाबाट आउने व्यक्ति तथा सङ्घसंस्थामार्फत यो अभियानअन्तर्गत प्राप्त भएको रकम स्थानीय रेडियो, टेलिभिजन तथा पत्रपत्रिका र सामाजिक सञ्जालबाट सार्वजनिक गरेकाले पनि एकपछि अर्को दाताले वृद्धाश्रमलाई सहयोग गर्न थाल्नुभएको कार्यालय प्रमुख श्रेष्ठको दाबी छ । स्याङ्जासहित पाल्पा, कास्की, रुपन्देही, गुल्मीलगायत जिल्लाबाट आएर वृद्धाश्रममा आश्रय लिएर बस्नुभएका वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । वृद्धवृद्धाको दैनिक स्वास्थ्य परीक्षणका लागि वृद्धाश्रममै उपस्वास्थ्यचौकी स्थापना गरिएको छ जसले गर्दा आवश्यक औषधि तथा परामर्शको सहज व्यवस्थापन भएको छ । वृद्धाश्रममा विभिन्न सरकारी सङ्घसंस्था तथा व्यक्तिले अन्य उपकरणहरु, लत्ताकपडा, तातो चिसो खानेपानी फिल्टर लगायतका सामग्री सहयोग गर्नुभएको छ भने अक्षयकोष पनि सञ्चालनमा छन् । वृद्धवृद्धाको स्याहार तथा सरसफाइका लागि पाँच जना कार्यालय सहयोगी राखिएको संस्थाका उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । वृद्धवृद्धाले टेलिभिजन हेर्ने, सामूहिकरुपमा भजनकीर्तन गर्ने, लाखबत्ती काट्ने जस्ता कार्य गरेर दिन बिताउँदै आएका उपाध्यक्ष खनालले बताउनुभयो ।
Categorized in राष्ट्रिय