‘गुणरत्न माला’ पुनःप्रकाशन गर्न साहित्यकारको माग
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार
बालकदेखि वृद्धसम्मका लागि उपदेशमूलक ग्रन्थ ‘गुणरत्न माला’लाई व्याख्यासहित पुनःप्रकाशन गरिनुपर्नेमा जोड दिइएको छ । कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको काव्यसभाका वक्ता साहित्यकारहरुले करीब १०० वर्षअघि प्रकाशन भएको गुणरत्न मालालाई पुनः प्रकाशन गरे समाजलाई फेरि सच्चरित्रमा फर्काउन सकिने बताउनुभयो ।
साहित्यकार रमेशप्रसाद खकुरेलले समाजको घाउ निचोर्न सक्ने स्रष्टाको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै समाजलाई सही मार्गमा डो¥याउन गुणरत्न मालाजस्ता ग्रन्थको उपदेश एवं सच्चरित्रता चाहिने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्राज्ञ लक्ष्मी उप्रेती, कुन्ता शर्मा, प्रतिष्ठानका अध्यक्ष राधिका गुरागाईँ, उपाध्यक्ष ऋषिप्रसाद दाहाललगायतले कवि गुरागाइँका अप्रकाशित कृति अनुसन्धान गरी सार्वजनिक गरिनुपर्ने विचार राख्नुभयो ।
विसं १९५७ असार २३ गते जन्मनुभएका कवि गुरागाइँको निधन २०२३ कात्तिक २६ गते भएको थियो । उहाँको ११९औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई दर्जन बढी कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


