STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘गुथियारसँग वार्ताको पहल भएको छैन’

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २१, मंगलबार

कला संस्कृतिले धनी नेवार समुदायको महत्वपूर्ण सम्पत्ति भनेको हजारौँ वर्षअघि आप्mना पुर्खाले स्थापना गरेको गुथी, योसँग जोडिएको संस्कार तथा धार्मिक गतिविधि हो । गुथी नेवार समुदायको जीवन्त संस्कृति तथा संस्कार मात्र नभएर आफ्नो मौलिक पहिचान हो । त्यति मात्र होइन, गुथी शब्द सयौँ वर्षदेखि देशको राष्ट्रिय पहिचानका रुपमा स्थापित भइसकेको छ । सरकारले नेवार समुदायको मौलिक पहिचान गुथी संरचनालाई सामन्ती अवषेशको संज्ञा दिएपछि काठमाडौँ उपत्यकाका नेवार समुदाय जुरुक्क उठे र विरोधमा उत्रियो । चर्को नागरिक प्रतिवादले जनआन्दोलनको बाटो समातेपछि गुथी विधेयक फिर्ता गर्न सरकार विवश भयो । यसअघि वैशाख १७ मा सरकारले गुथी विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । असार १० मा गुथी विधेयक फिर्ता लिइए पनि गुथीको सम्बन्धमा सैद्धान्तिक बहस अझै भएको छैन । सरकारले सम्बन्धित गुथियारलाई बोलाएर छलफल पनि प्रारम्भ गरेको छैन । यसअघि प्रस्तावित विधेयक संसद्मा दर्ता गर्नुअघि सम्बन्धित गुथियारसँग बसेर छलफल नगरी एक्कासी संसद्मा पेश गरेपछि विधेयक विवादमा परेको थियो । नेपाल मण्डलमा गुथीको इतिहास झण्डै दुई हजार वर्ष पुरानो छ । नेवार समुदायको सभ्यताको मूल चुरो गुथी हो । अरू समुदायमा पनि आक्कलझुक्कल भेटिने गरेको गुथी प्रथा नेवार समुदायबाट प्रेरित भएर बनेको हो । नेपालमा मात्र होइन अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, युरोप, जापान, कोरिया आदि मुलुकमा छरिएर रहेका नेवार समुदायले पनि गुथीको प्रचलनलाई आत्मसात् तथा अङ्गीकार गर्दै आएको छ । रासससँग कुरा गर्दै नेवा दे दबूका ध्यक्ष नरेश ताम्राकारले सरकारले जनदबाबमा परी गुथी विधेयक फिर्ता लिए पनि हालसम्म सरोकारवाला तथा गुथियारलाई बोलाएर अब ल्याइने गुथी विधेयकका बारेमा छलफल गर्न वार्ताका लागि आमन्त्रण नगरेको बताउनुभयो । उहाँले नेवार समुदायको कला तथा संस्कृतिसँगको जीवन्त सरोकार रहेको गुथी स्वायत्त हुनुपर्नेमा जोड दिँदै नयाँ गुथी विधेयक ल्याउनु अघि सरोकारवाला तथा गुथियारसँग सल्लाह तथा छलफल हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ताम्राकारले विधेयकमा रहेका प्रावधानले गुथियारको हक तथा अधिकार समाप्त गरी गुथी तथा नेवारहरुको संस्कृति तथा धार्मिक परम्परा समाप्त गर्न खोजेकाले नेवार समुदाय विरोधमा उत्रेको बताउनुभयो । उहाँले अब बन्ने विधेयकमा सरकारको भूमिका अभिभावकका रुपमा मात्र हुनुपर्ने तथा गुथीलाई स्वायत्तता हुनुपर्ने बताउनुभयो । गुथी विधेयक प्रतिरोध समन्वय समितिका सल्लाहकार तथा वरिष्ठ पत्रकार मल्ल के सुन्दरले सरकारले यतिका दिन बितिसक्दा पनि गुथियारलाई वार्ताका लागि नबोलाएको बताउनुभयो । उहाँले सरकारले अब ल्याउने विधेयकको ‘कन्टेन्ट’ हेरेपछि मात्र टिप्पणी गर्ने बताउँदै सरकारसँग वार्ता गर्नका लागि साझा धारणा तयार गर्न शनिबार डा महेशमान श्रेष्ठको अध्यक्षतामा गुथी विधेयक प्रतिरोध समन्वय समिति गठन गरिएको जानकारी दिनुभयो । सो समितिमा काठमाडौँ, ललितपुर तथा भक्तपुर गरी उपत्यकाका गुथियारहरुको प्रतिनिधि रहेका छन् । नेपालमा गुथीको इतिहास ‘तिमीहरुका ग्रामको सीमाभित्रका ठाउँमा पहिलेका राजाहरुले र अरू सज्जनहरुले पुण्य बढोस् भनी जुन खेतहरु दान दिएका थिए ः कसैले पनि तिनीहरुको हिनामिना गर्न नपाओस् भन्नाका लागि र धेरै कालसम्म ती कायम रहून् भन्नाका लागि हरबखत पुण्यको कामको ताँतीले बढ्दै गएको सफा कीर्तिको फैलावटले दिशा ढाकेका श्रीमहासामन्त अंशु बर्माले हाम्रो अनुमति लिई यो सनद शिलापत्र गरिदिएका छन् ः यो कुरा तिमीहरुलाई थाहा होस् ।’ संवत् ५२६ आश्विन शुक्ल भनी उल्लेख भएको ललितपुरको लेलेको अभिलेखमा लिच्छविकालको जनजीवनको महत्वपूर्ण पक्षबारे निक्कै प्रकाश पारिएको पाञ्चाली शासन पद्धतिको ऐतिहासिक विवेचनामा नेपालका प्रसिद्ध इतिहासकार धनबज्र बज्राचार्यले उल्लेख गर्नुभएको छ । ‘लिच्छविकालमा धार्मिक, शिक्षा र स्वास्थ्य आदिका लौकिक काम कुरा चलाउन गोष्ठीहरु खडा गरिएका थिए । आवश्यक कुरा मिलेर गर्ने सामूहिक भावना नै गोष्ठी प्रथाको आधार हो । गोष्ठी शब्दबाट नै गुथी शब्द बनेको हो । अहिलेसम्म पनि हाम्रो यहाँ प्रशस्त गुथीहरु चलेर आइरहेका छन् ।’ यो कुरा पाञ्चाली शासन पद्धतिको ऐतिहासिक विवेचनामा इतिहासकार बज्राचार्यले टिप्पणी गर्नुभएको छ । ‘परिवारको गुथी परिवारको सन्तान दरसन्तानको विवेकबाट चल्थे । गुथियारलाई सुम्पेको गुथी दाताको सन्तानको अधीनमा नरही निश्चित व्यवस्थाका आधारमा चल्ने गरेको’ इतिहासकार बज्राचार्यले उल्लेख गर्नुभएको छ । धार्मिक कुरा वा लोकको हित हुने काम चलाउन श्रद्धालु राजा, प्रजा, चल–अचल सम्पत्ति दान गर्दथे । आफ्नै परिवारको अधीनमा रहेको वा अरू नियत व्यक्ति गरी दुई थरीको गुथी पाइने गरेको उहाँको भनाइ छ । नेवा दे दबूका अध्यक्ष ताम्राकारका अनुसार सरकारले यसअघि ल्याएको प्रस्तावित विधेयकमा प्राधिकरण खडा गरी गुथियारको सम्पूर्ण हक खोसिएकाले नेवार समुदायले विरोध गरेको बताउनुभयो । नेवार समुदायले गुथी विधेयकको दफा २३ र २४ मा आपत्ति जनाएका छन् । के छ त दफा २३ र २४ मा दफा २३ को १ यो ऐन प्रारम्भ हुनुअघि कायम रहेका छुट गुथी र सार्वजनिक गुथी यो ऐन प्रारम्भ भएपछि स्वतः राज गुथीमा परिणत हुनेछन् । ऐनको दफा २ को उपदफा १ बमोजिम राजगुथीमा परिणत हुने छुट गुथी र सार्वजनिक गुथीको चल, अचल सम्पत्ति, जायजेथा, देवदेवीको प्रतिमा आदिमा भइरहेको गुथियारको हक र दायित्व प्राधिकरणमा सर्नेछ । दफा २४ गुथियारको अधिकार स्वतः समाप्त हुने यो ऐन प्रारम्भ हुँदाको बखत कुनै समझदारीपत्र, सहमतिपत्र, दानपत्र, रुक्का, लालमोहर, खडग निशाना, सनद, सवालजस्ता जुनसुकै प्रकारको लिखत, अडा, अदालतबाट भएका फैसला, आदेश मिलापत्र, निर्णय वा कुनै पनि लिखत वा परम्पराका आधारमा पाएको गुथियारको धार्मिकस्थल उपरको सबै अधिकार यो ऐन प्रारम्भ भएपछि स्वतः समाप्त हुनेछ र गुथियारलाई अधिकार प्रदान गर्ने त्यस्ता सबै प्रकारका लिखत स्वतः निष्क्रिय हुनेछन् । काठमाडौँका नेवार समुदाय जुरुक्क उठ्नुका पछाडि यी दफाहरुमा उल्लिखित बुँदाप्रतिको असहमति नै हो । रातो मच्छिन्द्रनाथको जात्रा, सेतो मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्राजस्ता राष्ट्रिय पर्वदेखि स–साना पर्वसँग सम्बन्धित गुथीको अस्तित्व यी प्रावधानले समाप्त पार्दछ भन्ने उनीहरुको धारणा छ । विज्ञहरुका अनुसार प्रस्तावित विधेयकका डेढ दर्जनभन्दा बढी धारा तथा दफा प्रचलित परम्परा, संस्कार तथा संस्कृतिअनुकूल छैन । अनगिन्ती गुथी नेवार समुदायमा पारिवारिक गुथीका रुपमा निजी गुथी रहेका छन् । दाजुभाइ तथा आफन्त संलग्न आचाः गुथी, बरे गुथी, कसाः गुथी, न्ह्यय्सः सायमी गुथी आदि छन् । द्यःगुथी जसअन्तर्गत गनेद्यः, महाद्यः, नारांद्यः, लाखे, दागिं आदि छन् । जात्रासँग सम्बन्धित गुथी कुमारी, बुँगद्यः, विस्काः, मतयाः, सम्यक, पञ्जराँ आदि छन् । पूजा गुथी– देपुजा गुथी, भिंद्यःपुजा गुथी, पञ्जरां गुथी, सनाःगुथी, सी गुथी ९सद्गत यायेगु०, साखःति गुथी, बौमत, ज्यापु गुथी, मिसा गुथी यसरी नेवार समुदायमा धेरै धेरै प्रकारका गुथी अस्तित्वमा छन् र ती अनवरत सञ्चालन भइरहेका छन् । समाजसेवी धनवीर मानन्धरका अनुसार नेवार जीवनचक्रको लगभग सम्पूर्ण कर्तव्य र दायित्व गुथी परम्पराको वरिपरि घुमेको हुन्छ । गुथीकै कारण उनीहरुको जीवन सरल, सहज र सरस हुन्छ । अनगिन्ती प्रकारका गुथीले नेवार समाजलाई समूहमा जिउन सिकाउँछ । परिवर्तित परिस्थितिमा नेपालको ऐतिहासिक महत्वको कला, संस्कृतिको आधार गुथीलाई संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नेतर्फ सरकार तथा प्रदेश सरकारको ध्यान जानुपर्नेमा उहाँको जोड छ । गुथीका आर्थिक स्रोत मुख्यतः गुथियारहरुको दान नै हो । गुथीको कार्यसम्पादन गर्न अक्षयकोषका रुपमा भूमि नै गुथी मातहत राख्ने र उक्त भूमिको आम्दानीबाट आर्थिक स्रोत जुटाउने व्यवस्था प्रचलनमा रहँदै आएको छ । धार्मिक, सामाजिक, सामूहिक कामका लागि चाहिने खर्चका जोहो गर्न जग्गा तथा गरगहना दान दिने दातालुको उदारता गुथीको आर्थिक स्रोत हो । विशेषगरी लिच्छवी र मल्लकालमा विकास भएको यो प्रथा कुनै ठूला मन्दिर निर्माण कार्य गर्न परे तत्कालीन राजा तथा भारदारहरु तथा जनताबाट गुथीका निमित्त जग्गा दान दिइन्थ्यो । –रासस
Categorized in राष्ट्रिय