‘निगु पुखुः’ ले पुनः जीवन पाउँदै
Janjati Khabar – जनजाति खबर | २०७६ पौष ९, बुधबार
प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये एउटा पोखरी संरक्षण तथा पुनःनिर्माण सम्पन्न भई पानी भरेको मध्यपुरथिमि नगरपालिकाले सँगैको अर्को ठूलो पोखरी संरक्षण गर्न शुरु गरेको छ ।
संरक्षण अभावमा पानी सुकेर वर्षौँदेखि चौरमा परिणत मध्यपुरथिमि–४ को ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरी संरक्षण एवं पुनःनिर्माणका लागि उपभोक्ता समिति गठन गरी नगरपालिकाले गत वर्षदेखि काम शुरु गरेको थियो । एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी बिस्केट जात्राका लागि पानी भरेको थियो भने अर्को पोखरी आगामी वैशाख १ गतेको बिस्केट जात्राका लागि पानी भर्ने गरी संरक्षण तथा पुनःनिर्माण शुरु गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
पानी नसुकोस् भनेर पोखरी निर्माणको क्रममा पिँधमा कालोमाटो छ इन्च, त्यसमाथि तीन इन्च पाँगोमाटो र त्यसमाथि फेरि छ इन्च कालोमाटो राखेर त्यसमाथि इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पा, मा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ भने अब पुनःनिर्माण हुने पोखरीमा पनि यही विधि अपनाइनेछ ।
निगु पुखुः संरक्षणका लागि नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा रु ६० लाख खर्च गरेको थियो । उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि चालू आव २०७६÷७७ मा नगरपालिकाले रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्वारका लागि प्रदेश नं ३ सरकारले थप रु ४५ लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
दक्षिणतर्फको पोखरी पाँच फिट गहिरो छ । उत्तरतर्फको पोखरी सात फिट गहिरो बनाइनेछ । ठूलो पोखरीमा पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गरिने भएको छ । आकाशे पानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ । पोखरीमा मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाएको छ ।
तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्नेगरी नगरपालिकाले कूल रु १५ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो । जसमा दुईवटै पोखरीको वरिपरि पैदलमार्ग निर्माण, आठ परम्परागत शैलीको फल्चा अर्थात् पाटी, दुई पोखरीको बीचको बाटो पुनःनिर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको जानकारी दिनुभयो ।
करीब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो । बढ्दो शहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थाली पोखरी संरक्षणमा ध्यान जान छाडेपछि संरक्षणको अभावमा पोखरी चौरमा परिणत भएको स्थानीयवासी बताउँछन् ।
दुई पोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र शहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको स्थानीयवासी बताउँछन् ।
विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ । “गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन”, श्रेष्ठले भन्नुभयो, “पोखरी सुक्यो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले जनप्रतिनिधि आएपछि संरक्षण थाल्याँै, अब पुरानै अवस्थामा फर्किन्छ ।”
मध्यपुरवासीले दुई पोखरी सुधार समिति नै गठन गरी पटक–पटक संरक्षण प्रयास गर्दै आएको र विसं २०६५ मा नगरपालिकाले रु १० लाखको लागतमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुनसकेको थिएन । अब भने निगु पुखुःले पुनःजीवन पाउने भएको छ ।
Categorized in राष्ट्रिय