STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘फुपु तेन्जिङ्ग, जसले कम उमेरमै फेसन र इन्टेरियर डिजाइनमा क्रान्ति ल्याए’

Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक २७, बिहिबार

–प्रेमकृष्ण श्रेष्ठ

शुक्रवार र शनिवार कमलपोखरीस्थित सिटी सेन्टर कुनै नवदुलहीतुल्य सजिएको थियो । सजिनुको कारण रहेको थियो, आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका इन्टेरियर डिजाइनका विद्यार्थीहरुले प्रदर्शन गरेको – ‘आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो’ । 

प्रदर्शनीमा एक दर्जनभन्दा बढी प्रोजेक्टहरु प्रदर्शित थिए । एक्स्पोलाई भिजिट गरेर आएका सबैले तीन शब्दको प्रतिक्रिया दिइरहेका थिए – ‘वाह, यस्तो पो एक्स्पो ! ‘यस्तो सुसंस्कृत डिजाइनरहरुको पनि डिजाइनर को होला ?’ भनेर सबैको मनमा जिज्ञासा भएको बेलामा स्कुलका प्रवन्ध निर्देशक फुपु तेन्जिङ्ग शेर्पा मञ्चमा पाहुनाहरुलाई स्वागत गर्न व्यस्त देखिएका थिए । मञ्चको ठीक तल, भोलिको नेपाल कलात्मक तरिकाले नेवाः क्वाफे, कार शोरुम, बैंक डिजाइन, रेष्टुराँ, प्रि–स्कुल र स्प्राको रुपमा सजिएका थिए । 

स्थापना भएको एक दशक नपुग्दै, फेसन र इन्टेरियरलाई विद्यार्थीहरुको पहिलो रोजाइमा पार्न सफल भएको कारण, फुपु तेन्जिङ्गभन्दा उनको मेहनतले स्पष्टिकरण दिइरहेका थिए । 

यो सानदार एक्स्पोपछि धेरै नेपालीको मनमा, फेसन र इन्टेरियरको क्षेत्रमा क्रान्ति ल्याउने फुपु तेन्जिङ्ग शेर्पा को हुन् भनेर जिज्ञासा रहेकोले उनको बारेमा केही शब्दले बुन्ने थोरै जमर्को गरेको छु । 

बलिवुडमा सन् १९६९ तिर एउटा चलचित्र आएको थियो—‘प्रिन्स’ । जस्मा त्यसबेलाका चकलेटी हिरो शम्मी कपुर र बैजयन्ती मालालाई हेदै गीत गाउँछन् ‘बदन पे सितारे लपेटे हुए ओ जान–ए तमन्ना किधर जा रही हो’ । त्यतिबेला गीतकार हसरत जयपुरीको शब्दले, बैजयन्ती मालाले लगाएको झिमिमिली सारीमा धेरैको नजर गएको थियो । ‘प्रिन्स’ चलचित्र प्रदर्शन भएपछि त्यो समयमा त्यस्तो सारी खुब बिक्री भयो भनिन्छ । आज भन्दा ५५  वर्षअघि नै फेसनले त्यस्तो प्रभाव पारेको थियो भने अहिले झन प्रविधिको विकासले फेसनको शक्तिशाली प्रभावको सहजै अनुमान लगाउन सकिन्छ । 

सन् १९६५ मा ‘आरजु’ चलचित्र आएपछि ‘साधना कट’, सन १९९० मा ‘आशिकी’ आएपछि ‘राहुल राय’ कट एवं ‘आशिकी कट’ सँगै नायक, नायिका र मोडलले लगाउने विसिन्न वान्कीको पोशाकलाई दुनियाँले दिवाना भएर पछ्याएको हामीले सुनेका छौं, हेरेका छौं । हलिवुड, बलिवुडमा मात्र होइन, कलिवुडमा समेत फेसनको प्रभाव हामीले देख्दै आएका छांै । 

आजको समय नै फेसनको हो भन्दा अत्युक्ति नहोला । शब्दभन्दा संगीत बढी सुनिने, संगीतभन्दा भिडियो बढी हेर्ने र भिडियोमा पनि मोडलको फेसनलाई नियाल्ने प्रवृति बढदै गएको छ । चलचित्र हेरिसकेपछि आम दर्शकमा फलानो गीतमा मिरुना मगरले लगाएको पोशाक कस्तो राम्रो थियो भन्नेखालको धारणा पनि समिक्षासँगै उनिनु स्वभाविक हो । अहिलेको समयमा, सौन्दर्यमा अझ सौन्दर्यको जोड गर्ने फेसनलाई हामी नजरअन्दाज गर्न सक्दैनौं । 

इभेन्ट व्यवस्थापक हुँदै गायन र अभिनयमा समेत अनुभव सँगालिसकेका फुपू तेन्जिङ शेर्पा पछिल्लो समय फेसन तथा इन्टेरियरबारे अध्यापन गराउनेतर्फ बढी उन्मुख छन् । जसको श्रेय उनी आफै हुन् । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका प्रबन्धक निर्देशकसमेत रहेका उनी भन्छन्, “सौन्दर्य प्रतियोगिता आयोजना र व्यवस्थापन गरेको झण्डै दुई दशकको अनुभवलाई फेसन इन्स्टिच्युटमार्फत् शेयर गर्दैछु ।” 

पछिल्लो समय प्यासिफिक इभेन्ट म्यानेज्मेन्टमार्फत् फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएका उनले करिब पाँच वर्ष यता भने आईआईएफटीमार्फत् फेसन र इन्टेरियर डिजाइन उत्पादन गर्दै आएका छन् । जसले नेपाली फेसन तथा इन्टेरियरको दुनियाँमा इँटा थप्ने काम गरेको छ । 

यति मात्र होइन, नेपालमा पहिलोपटक जातीय एवं क्षेत्रीयरुपमा सौन्दर्य प्रतियोगिताको टे«ण्डको थालनी गराउने पनि उनी नै हुन् । जतिखेर नेपालमा नगन्यरुपमा मात्र सौन्दर्य प्रतियोगिताहरु हुने गर्दथ्यो । त्यतिखेर फुपू तेन्जिङ शेर्पाले ‘मिस टिन शेर्पा’ आयोजना गरे । 

सन् २००४ मा ‘मिस टिन शेर्पा’ आयोजना गर्दा ‘मिस नेपाल’ बाहेकका सौन्दर्य प्रतियोगिता नियमित थिएनन् । तर त्यो अवस्थामा समेत विभिन्न जात एवं समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताहरु उनले आयोजना गरे । 

सन २००३ मा ‘किड क्वीन पोखरा’ आयोजना गरेर ब्युटी पेजेन्टमा हात हात हालेका फुपू तेन्जिङ शेर्पा भन्छन्, “जतिखेर सौन्दर्य प्रतियोगिता गर्न सुरु गरेको थिएँ, त्यो समय गार्मेन्ट व्यवसायी धरासायी अवस्थामा थियो । त्यस्तो अवस्थामा समेत ब्युटी पेजेन्ट गर्नु आफैमा चुनौती थियो । तर, मैले नियमित ब्युटी पेजेन्ट गर्दै आएँ ।” 

पूर्वी नेपालको विकट जिल्ला ताप्लेजुङको लेलेप–५ (हाल फक्ताङलुङ–६) मा जन्मिएर पनि सौन्दर्य प्रतियोगिता र फेसनलाई व्यवसायीरुपमा अँगाल्न सफल फुपू तेन्जिङ शेर्पा आफ्नो विगतलाई स्मरण गर्दै भन्छन्, “पाटन हाइस्कुलबाट एसएलसी उतीर्ण गरेपछि नमुना कलेजमा व्यवस्थापन विषय लिएर अध्ययन सुरु गरेँ, त्यससँगै फेसन डिजाइनिङ कोर्स गरेँ । फेसन डिजाइनिङको कोर्स सकेलगत्तै सौन्दर्य प्रतियोगितामा हात हालेको हुँ ।” 

‘किड क्वीन पोखरा–२००३’ पछि सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिएका उनले त्यसपछि धरान, विराटनगर, चितवन र काठमाडौंमा सौन्दर्य प्रतियोगिता आयोजना गरे । त्यसबीचमा उनले ‘मिस टिन शेर्पा–२००४’ आयोजना गरेर जातीय सौन्दर्य प्रतियोगितातिर उनी लम्किए । जसले नेपालमा सौन्दर्य प्रतियोगिताको नयाँ टे«ण्ड नै ल्यायो । ‘किड क्वीन पोखरा’, ‘किड क्विन विराटनगर’, चितवन, काठमाडौं गरिरहेकै अवस्था सन् २००५ मा ‘मिस नेवा’ आयोजना गरे जुन अहिले नियमित छ । ‘मिस टिन शेपार्’, ‘मिस नेवा’, ‘मिस लिटिल नेवा’ हुँदै सन् २०१७ मा आएर ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ गरे । जतिखेर अन्य आयोजकहरु पनि फुपू तेन्जिङ शेर्पाले प्रारम्भ गरेको जातीय तथा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगितालाई पछयाउँदै विभिन्न जात, वर्ग, समुदाय, कलेज हुँदै टोलसम्मको नाममा सौन्दर्य प्रतियोगिता सुरु गरे । 

सन् २००३ देखि सन् २०२४ सम्म आइपुग्दा तीन सयभन्दा बढी सौन्दर्य प्रतियोगिता, फेसन शो  म्युजिकल इभेन्टहरु आयोजना गरिसकेका छन् । 

उनी इभेन्ट तथा सौन्दर्य प्रतियोगिताहरुमा मात्र सिमित रहेनन्, गीतसंगीत तथा चलचित्रमा समेत देखिए । केही चलचित्र र म्युजिक भिडियोमा मोडलिङ गरेका उनी शेर्पा समुदायका प्रथम अभिनेतासमेत हुन् । 

‘राहदानी’ नामक नेपाली फिल्ममा अभिनय गरेर वाहवाह कमाएका उनले कलाकारितालाई सौख र रहरको रुपमा मात्र लिए । गायन, अभिनय र मोडलिङबारे उनी भन्छन्, “मलाई हरेक मान्छे कलाकार जस्तो लाग्छ । त्यही सोचेर मैले आफूलाई परीक्षण मात्र गरेको हुँ, व्यवसायिकरुपमा अँगाल्ने सोच आएन । अहिले पनि छैन ।” 

करिब आठ वर्ष यता काठमाडौंको बागबजारस्थित बागबजार प्लाजामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन सञ्चालन गर्दै आएका छन् । आईआईएफटीको कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा समेत ब्राण्ड खुलिसकेको छ । आईआईएफटीले करिब तीन वर्षकै बीचमा एक हजारभन्दा बढी युवायुवतीलाई फेसन डिजाइनिङको प्रशिक्षण दिइसकेको छ । 

आईआईएफटी काठमाडौंकै उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा स्थापित छ, जसले ‘मिस नेपाल’, ‘मिस मंगोल नेपाल’ लगायतका दजनौँ गन्तिका सौन्दर्य प्रतियोगिताका लागि आफ्नो डिजाइनिङ पहिरण उपलब्ध गराइसकेको छ । 

आईआईएफटीले सन् २०२० मा ‘बेस्ट फेसन एकेडेमी अवार्ड’ पाएको थियो भने हालैमात्र ब्युटी पेजेन्ट एसोसिएसन नेपाल ( बिपान ) का भाइस प्रेसिडेन्ट तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यकारी सदस्यसमेत रहेका फूपु तेन्जिङ शेर्पाले आईआईएफटीमार्फत ‘कर्पोरेट विजिनेस एक्सेलेन्स अवार्ड–२०२२’ पाए । फेसनप्रतिको क्रेज बढदै जाँदा आईआईएफटी सहरकै उत्कृष्ट इन्स्टिच्युटमा दर्ज भएको छ । जसबाट फूपु तेन्जिङ शेर्पा उत्साहित छन् । उनी भन्छन्, “आईआईएफटी अझ गुणस्तरीय फेसन इन्स्टिच्युटका रुपमा अगाडि बढाउने प्रयास हुँदैछ । फेसन क्रेज बढदै जानु र इन्स्टिच्युटले स्तरीय डिजाइनिङ शिक्षा प्रदान गर्न सके स्वरोजगारी बढने उनको विश्वास छ ।”

शेर्पा ग्रुपको अध्यक्षको रुपमा कार्यरत शेर्पाले काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा विगत लामो समयदेखि ‘फुड कोर्ट’ समेत संचालन गर्दै आएका छन् । उनी अझै केही नयाँ गर्ने साँेचका साथ अगाडि बढिरहेका छन् । उनी फेसनको साथै पछिल्लो समयमा इन्टेरियरको क्षेत्रमा पनि अगाडि बढिरहेका छन् । उनको मेहनत उपज आज आईआईएफटी बिद्यार्थीहरुको पहिलो रोजाइ बनेको छ । 

(यस लेखका लेखक प्रेमकृष्ण श्रेष्ठ एक बरिष्ठ पत्रकार, गीतकार एवं साहित्यकार हुन् । कीर्तिपुर विकास एवं समृद्धिका लागि निर्वाचित जनप्रतिनिधि भएर पनि सामाजिक सेवामा समर्पित भइसकेका व्यक्तित्व हुन् श्रेष्ठ । जनसेवा एवं समाजसेवामा समर्पित लेखक प्रेमकृष्ण श्रेष्ठ अन्तर्राष्ट्रिय अनलाइनमा समेत कलम चलाउने नेपालका एक चर्चित युवा लेखक हुन् । सं.)

 

Categorized in साहित्य-कला