STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘भैंसी चढेर आएको’ शब्दले संसदमा वादविवाद

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २२, सोमबार

काठमाडौं - प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए ।

त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए । एमाले सांसद रघुजी पन्तले भैंसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले प्रयोग गरेपछि आफ्नो पार्टीका सांसदले व्यंग्यस्वरुप उक्त शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि भैंसी चढेर आएको भन्ने शब्द मेटाउन माग गरे ।

लामिछानेले सत्तापक्षले यति सामान्य व्यंग्य पनि सहन नसकेर सत्तापक्षले संसदमा दादागिरी देखाएको टिप्पणी गरे । सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए । तर प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि मेटाउन स्पष्ट निर्देशन दिनुपर्ने माग गरे ।

तर सभामुख घिमिरेले देशको प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डमा रहनु उचित नहुने भन्दै त्यसलाई मेटाउनु उचित हुने भनेपछि प्रतिपक्षी सांसदहरु चित्त बुझाएर बसेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको उल्लेख गरेको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड ट्रोलको शिकार पनि भएका थिए ।

Categorized in राजनीति