STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘मगर खाम भाषा’ सङ्कटमा

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ९, बिहिबार

बागलुङको सुदूर गाउँ निसी । आफ्नै भाषा, मौलिक कला, संस्कृति र परम्परा भएको ठाउँ । डेढ दशक अगाडिसम्म निकै दुर्गम मानिने निसी मध्यपहाडी लोकमार्गले जोडिएपछि सुगम बनेको छ । निसी क्षेत्र सुगम बन्दै गएपछि यहाँका भाषा, कला र संस्कृति भने ओझेलमा पर्न थालेका छन् । लोकमार्गले जोडिएपछि बाह्य संस्कार संस्कृतिको सिको हुन थालेपछि यहाँका संस्कार संस्कृति ओझेलिन थालेका हुन् ।
कला, संस्कृतिसँगै यहाँका मगर समुदायको आफ्नै ‘मगर खाम भाषा’ पनि लोप हुने खतरा बढेको छ । युवा पुस्ता पढ्न तथा रोगारका सिलसिलामा गाउँ जोडेर बजार छिर्न थालेपछि यो भाषा लोप हुने अवस्थामा पुगेको हो । लोकमार्गले निसी क्षेत्र जोडिनु पूर्व यहाँका स्थानीयले आफ्ना बालबालिकालाई गाउँमै पढाउने गर्थे । गाउँमा खाम भाषानै बोल्ने हुँदा संरक्षित थियो । अहिले सामान्य आर्थिक अवस्था भएकाबाहेक धेरैले आफ्ना बालबालिकालाई पढाउनका लागि बजार पठाएका छन् । उनीहरु बजारमा हुँदा यो भाषा निकै कम बोल्ने गर्छन् ।

गाउँमा पढ्ने बालिबालिकाले अहिले पहिलेको जस्तो खाम भाषा बोल्न छोडेका छन् । विद्यालयमा आफ्नै भाषाको पाठ्यपुस्तक छैन । त्यसैले गर्दा पनि भाषा संरक्षणमा ठूलो चुनौती बढेको छ । मौलिक भाषा र संस्कृतिले चिनिने निसी अहिले अस्तित्व कसरी जोगाउने भन्ने अवस्थामा पुगेको छ । बुढापाकाले यसको संरक्षणमा चासो देखाए पनि युवा युस्तामा भने त्यो इच्छा त्यति देखिदैन । 

 निसीखोलामा बोलिने खाम भाषा अठार मगरात अन्तरगतको हो । यो भाषा निसीखोला गाउँपालिका वडा नम्बर ५ र ६ काले बोल्ने गर्छन् । नेपाली खस भाषाको बढ्दो प्रयोगका कारण आफ्नो भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिका वडा नम्बर ६ का ७६ वर्षीय तुलबहादुर बुढामगरले बताउनुभयो । बुढामगरले यसको संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

 “भाषा, संस्कार र संस्कृति भनेको हाम्रो पहिचान हो, पहिचाननै गुम्यो भने हाम्रो अस्तित्व के रु, अहिलेका युवा पुस्तालाई भाषा हराउन थालेको प्रति केही चासोनै छैन”, बुढा मगरले भन्नुभयो, “अब भाषा संरक्षणमा लागिएन भने अबको पाँच÷सात वर्षमा खाम भाषा कोही बोल्दैन, त्यसले गर्दा स्थानीय सरकारले पनि ध्यान देहोस्, हामी स्थानीय के गर्न पर्छ गर्छौँ ।” निसीबाट रोजगार र अध्ययनको लागि जिल्ला बाहिर जानेको सङ्ख्या ठूलो छ भने विदेश पलायन हुनेको सङख्या पनि उत्तिकै छ ।

 अहिले गाउँमा वृद्धवृद्धा र ससाना बालिबालिका मात्रै छन् । केही वर्ष अगाडिसम्म यहाँका अधिकांश स्थानीयको मुख्य कृषि र पशुपालन थियो । गाउँमै पशुपालन र कृषि कार्य गर्दा आफ्नै भाषा प्रयोग हुन्थ्यो । अहिले विदेश जाने र सहर पस्ने गर्दा भाषाको कम प्रयोग हुनेको गरेको निसीखोला गाउँपालिका वडा नम्बर ५ का नन्दबहादुर घर्तीमगरले बताउनुभयो ।

 “पहिले–पहिले गाउँमै भेडापालन गर्थे, आलु, भाँगो र सिमी उत्पादनमा लाग्ने गर्थे, अहिले धेरै जसोले भेडापालन र आलु खेती गर्न छोडे, युवाहरु विदेशिए, केटाकेटी पढ्न बजार झरे, अहिले गाउँमा त उही बुढापाका मात्रै छन्, उनीहरुले खाम भाषा नै बोल्छन्, उनीहरुले मात्रै बोलेर पक्कै भाषाको संरक्षण हुन्न होला, पुस्ता हस्तान्तरण हुनैपर्छ”, घर्तीमगरले भन्नुभयो, “स्थानीय सरकारले सहर पढ्न जाने बालबालिकालाई गाउँमै गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, रोजगारका लागि जाने युवालाई यहीँ नै काम गर्ने वातावरण सिर्जना गर्ने हो भने भाषा संरक्षणमा समस्या हुने थिएन ।”

सरकारी कार्यालयमा हुने कामकाज र विद्यालयमा हुने पठनपाठनदेखि सबै नेपाली भाषामा हुँदा खाम भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले राज्यको प्रष्ट नीति नहुँदा सयाँै वर्षदेखि बोलिँदै आएको खाम भाषा संकटान्मुख बन्दै गएका बताउनुभयो ।

स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सबै स्थानीय तहले आधारभूत तहमा ९कक्षा १ देखि ८ सम्म० स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरे पनि निसीखोला गाउँपालिकाले अहिलेसम्म पाठ्यक्रम निर्माण गर्न सकेको छैन ।

  स्थानीय पाठ्यक्रममा यो भाषा समेट्न सके यो संरक्षणमा टेवा पुग्ने देखिन्छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराम पुनले अन्य भाषामा पाठ्यक्रम तयारीको अन्तिम चरणमा पुगेको र मगर खाम भाषासहितको पाठ्यक्रमका विषयमा छलफल चलिरहेको बताउनुभयो । पुनले आगमी शैक्षिक सत्रदेखि दुवै भाषाका पाठ्यक्रमहरु लागु हुने गरि काम गर्ने बताउनुहुन्छ ।

 “पालिकाले पाठ्यक्रम निर्माणको अन्तिम चरणमा पुगेको छ, खाम भाषाको भने अहिले बल्ल छलफल चलेको छ, अहिले निर्माण चरणमा रहेको पाठ्यक्रममा पालिका भित्र भएका कला, संस्कृति, पर्यटन, कृषि तथा पशुपालन लगायतका विषयलाई समेटेका छौँ”, शिक्षा शाखा प्रमुख पुनले भन्नुभयो “आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी दुवै भाषाका पाठ्यक्रम तयार हुने छ ।”
उहाँले मगर खाम भाषा पालिकाको सात वडा मध्ये वडा नम्बर ५ र ६ मात्रै बोलिने हुँदा पाठ्यक्रम निर्माणमा केही समस्या भएको बताउनुभयो । “पालिकाको वडा नम्बर ५ र ६ मा मात्रै खाम भाषा बोल्नुहुन्छ, अन्य वडामा बोलिदैन, हामीले दुई प्रकारका पाठ्यक्रम बनाउनुपर्ने अवस्था छ, अहिले तयार हुने अवस्थाका पाठ्यक्रमलाई खाम भाषामा ‘ट्रान्सलेट’ गरेर गराउने कि छुट्टै बनाउने भन्ने विषयमा छलफल भएको छ ।“ – रासस

Categorized in राष्ट्रिय