‘महारानी’लाई यस वर्षकाे मदन पुरस्कार, जगदम्बाश्री शान्ति ठटाललाई
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ५, सोमबार
काठमाडौं – यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई प्रदान गरिने भएको छ ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गुठीले पुरस्कारका लागि मनोनित सात पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका थिए । यो पुरस्कारको राशी ४ लाख रहेको छ ।
त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ । गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान र्पुयाएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ । यो पुरस्कार पनि ४ लाख राशीकै हो ।
यी दुबै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने जनाइएको छ ।
Categorized in सिनेमा