‘महिला चलचित्र महोत्सव’ मा " सिन्दुर "
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ फाल्गुण २०, मंगलबार
‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ भने पहिलो दिन मंगलबार नेपालको पहिलो व्यावसायिक सफल चलचित्र " सिन्दुर " प्रदर्शन गरिएको थियो । प्रकाश थापा निर्देशित " सिन्दुर "को प्रदर्शन संगसंगै सो चलचित्रमा अभिनय गर्ने दुइ कलाकारहरु विश्व बस्नेत र बसुन्धरा भुसालसंग प्रसिद्ध सन्चारकर्मि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि सि ले अन्तरक्रिया पनि गरिएको थियो ।सोही क्रममा भुषाल र अभिनेता बस्नेतले फिल्म ‘सिन्दुरका अभिनयबारे अनुभव सुनाएका थिए ।
११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरिन् ।
कार्यक्रममा उपमेयर डंगोलले महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गर्दै यसले चलचित्रमा धेरैभन्दा धेरै महिलालाई समेट्न टेवा पुगोस् भन्दै शुभकामना व्यक्त गरिन् ।
‘अहिले चलचित्रमा महिला सशक्तीकरण बुलन्द रूपमा अगाडि आइरहेको छ । फिल्मको मेन चरित्र महिला पनि हुन थालेका छन्’, उनले भनिन् ‘काममा बराबरी, कुरामा बराबरी भए पनि परिश्रमिक बराबरी छ त ? प्रश्न यहाँ उठ्छ ।’ फिल्ममा महिलालाई भूमिकादेखि पारिश्रमिकसम्म समान व्यवहार हुनुपर्ने उनको धारणा रहेको थियो । उनले थपिन्, ‘महिला चलचित्र महोत्सव’ले चलचित्रमा नारीलाई अझ अगाडि ल्याउन मद्दत मिल्ने विश्वास लिएको छु ।’
‘काठमाडौं महानगरपालिकाले क्रियटिभ सिटीका लागि फिल्म बिधा छान्यो’, उनले भनिन्, ‘हामीसँग भएको मूर्त अमूर्त सम्पदालाई राष्ट्रियकरण तथा अन्तर्राष्ट्रियकरण गर्ने हो भने त्यसको बलियो औजार फिल्म हो ।’ फिल्मबाट हामीले गीत, सहित्य, रहनसहन र सम्पदा सबै देखाउन सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौँ महानगरपालिकाको सहकार्य चाहेको बताए । उनले बेग्लाबेग्लै स्टुडियो बनाउनुभन्दा उत्कृष्ट एउटै स्टुडियो निर्माण होस् भन्ने बोर्डको चाहना रहेको धारणा राखे । अध्यक्ष डिसीले तीनदिने महोत्सवमा तीनै दिन बेग्लाबेग्लै कार्यक्रम रहेको समेत जानकारी दिए । कार्यक्रमले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, अभिनेता विश्व बस्नेत, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी लगायत थुप्रै चलचित्रकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रमस्थलमा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दुर’ चलचित्रका महिला चलचित्रकर्मीको स्केचसमेत बनाएका थिए ।
महोत्सवको दोस्रो दिन बुधबार महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन र चलचित्रमा ‘नारी संवाद’ कार्यक्रम रहेको छ । त्यस्तै अन्तिम दिन बिहीबार महिलाका विषयका नाटक प्रदर्शन तथा महिला चलचित्रकर्मी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको छ ।
उदघाटन समारोह चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजक अभिनेत्री केकी अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
Categorized in सिनेमा

