STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘मह’को ‘म’को कोरोना अनुभव : मास्कले धेरै हदसम्म संक्रमण हुन बचाउँछ

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १८, मंगलबार

काठमाडौं – लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मास्कले धेरै हदसम्म कोभिड–१९ संक्रमणबाट टाढा राख्न सहयोग गर्ने अनुभव सुनाउनुभएको छ ।

सामाजिक संजाल फेसबुकबाट ख्यालिजुजु श्रेष्ठले यस्तो अनुभव सार्वजनिक गर्नुभएको हो । श्रेष्ठले लेखेका छन्, “मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ जस्तो लाग्यो  । त्यसैले साबुनपानी, स्यानिटाइजर र सामाजिक दुरीका साथै मास्क लगउन विशेष ध्यान दिनु होला है ।”

मह जोडीका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठ लेख्छन्, “हरिवंशलाई कोरोना पोजेटिभ भैसकेको रहेछ, यो कुरा हरिवंश आफैलाई पनि थाहा थिएन । ऊ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन । हामी दुवैजनाले यस विषयमा कुरै नगरे पछि विचरा हाम्रा छेउछाउमा उभिएका÷बसेकाहरुलाई त झन् शंकासम्म पनि नहुनु स्वाभाविकै थियो ।

हामी त दुई दिनसम्म मजाले शुटिङमा व्यस्त भएर, एउटै गाडी धेरै बेरसम्म चढेर हिँडिरहेका थियौं ।

भोलिपल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त ...! ? भन्दा त लौ मार्यो ... एक छिन त म पनि झसंग भएँ । किनभने हरिवंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठो कवाफ बराबर हुन सक्छु । तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखापरिरहेको थिएन । तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें । एक हप्तापछि टेष्ट गराउँदा एउटै गाडी चढेका मसमेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो ।

कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं । सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं । तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन ।

तर पनि सबैको रिपोर्ट कसरी नेगेटिभ भयो होला भनेर सोच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।

त्यस पछि लाग्यो मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ । त्यसैले साबुनपानी, स्यानिटाइजर र सामाजिक दुरीका साथै मास्क लगाउन विशेष ध्यान दिनु होला है ।”

मह जोडीका हरिवंश आचार्यलाई कोरोना संक्रमण हुँदा ऊसँग एउटै गाडीमा हिँडे पनि मास्ककै कारण आफूलाई संक्रमण नभएको अनुभव सामाजिक संजालमा श्रेष्ठले पोखेका छन् ।

 

Categorized in व्यक्तित्व