STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘राष्ट्रिय खोप कार्यक्रमलाई सशक्त ढङ्गले लैजानुपर्छ’

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २६, बिहिबार

राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा र रुबेला खोप अभियानलाई सशक्त, प्रभावकारी र सफल बनाउनुपर्ने आवश्यकतामाथि सहभागीहरुले जोड दिएका छन् । परिवार कल्याण महाशाखाद्वारा बुधबार यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले सन् २०२३ सम्ममा मुलुकलाई दादुरा र रुबेलामुक्त बनाउन यो अभियानलाई सशक्त ढङ्गले लैजानुपर्ने सुझाव दिएको छ । आगामी फागुन १ देखि फागुन मसान्तसम्म चल्ने सो अभियानअन्तर्गत दादुर, रुबेला नौ महिनादेखि पाँच वर्षसम्मका र पोलियो थोपा जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई अनिवार्य खुवाउनुपर्ने अभियानको लक्ष्य छ । देशभरिमा पाँच वर्षमुनिका ३० लाख र जन्मेदेखि पाँच वर्षका करिब १५ लाख बालबालिका यो अभियानमा सहभागी हुनेछन् । यस प्रदेशमा करिब पाँच लाख बालबालिका हुनसक्ने प्रारम्भिक अनुमान स्वास्थ्य निर्देशनालय धनकुटाको छ । खोप अभियानसँगै यस वर्ष खोप प्रमाणपत्र वितरण गर्ने र यसमा खोपको अवस्था कस्तो छ बुझिने तथा आगामी कार्यक्रम एवं योजना बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी दक्ष एवं तालीम प्राप्त हुनुपर्ने बताउँदै खोपसँगै स्वास्थ्य बीमाको कार्यक्रम लैजान सकियो भने आम नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । “सरकारको लगानी एवं छात्रवृत्तिबाट चिकित्सक बनेका स्वास्थ्यकर्मी दुर्गम जान नमान्नु दुर्भाग्य हो”, उहाँले भन्नुभयो, “कर्मचारीले क्षमता प्रयोग नगर्ने, आदेश र निर्देशनमा पर्खेर बस्ने प्रवृत्तिले काममा ढिलाइ भइरहेको हुँदा यस्तो प्रवृतिको अन्त्य हुनुपर्छ ।” सामाजिक विकास समितिका सभापति सरिता थापाले यो अभियानलाई सफल बनाउन समितिको तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख चन्द्रदेव मेहताले सरकारको हरेक उद्देश्यलाई पूरा गर्न निर्देशनालय तत्पर छ भन्नुभयो । बाल स्वास्थ्य तथा खोप सेवा महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको कारणले बिरामी र अपाङ्गता घटाएको छ भन्नुभयो । खोप अधिकृत भरतमणि भण्डारीले खोपमुक्त मुलुक बन्न नसक्नुका कारण प्रारम्भिक खोप लिने र पछि नलिने हो भन्नुभयो ।
Categorized in राष्ट्रिय