‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २०, बुधबार
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ । उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो ।
अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानव सेवा आश्रम संचालन प्रयोजनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहन बहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभयो र त्यसमा
साक्षीकारुपमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली, नागार्जुन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर मानव सेवा आश्रमकी महासचिव, सुशिला के.सी. (रुपा) रहनु भएको छ ।
काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट घरवार विहिन भई खुल्ला आकाशमुनी अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरुलाई सडकबाट तथा खुल्ला स्थानबाट उद्धार गरी काठमाडौं उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
उहाँले मानव सेवा आश्रम निर्माणसँगै काठमाडौँको खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश नागरिकहरुको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको घर–दैलोको सरकार भएको भन्दै कुनै पनि नागरिक खानका लागि सडकमा आउने अवस्थाको अन्त्यका लागि निरन्तर लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘यो असल काम हो, यसमा सञ्चारमाध्ययमको पनि सरकारात्मक भूमिका आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘कोही भोको रहँदैन, भोकै कोही मर्नु पर्दैन’ भन्ने अभियान अन्तर्रगत नै यो काम गरिरहेका छौँ । सबैको सहयोग भयो भने यो मानवीय उद्दारको कार्य सरकारात्मक निश्कर्षमा पुग्छ ।’
सम्झौता अनुसार काठमाडौँ महानगरपालिका र चन्द्रागिरी नगरपालिका क्षेत्रभित्रका सडक पेटी तथा खुल्ला क्षेत्रहरुमा रहेका÷भेटिएका सवै उमेर समूहका र सवै प्रकृतिका सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण, शिक्षादिक्षा आदि आधारभूत आवश्यकताको परिपूर्ति गर्ने प्रवन्ध मानव सेवा आश्रमले गर्नेछ ।
प्रमुख शाक्यले भवन निर्माण गर्न आवश्यक बजेट प्रवन्ध गर्न महानगरपालिका तयार रहेको जानकारी दिनुभयो ।
सो कार्यक्रमलाई सम्वोधन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले आफ्नै नगरपालिकामा भवन बन्ने कुराले उत्साहित भएको बताउनुभयो । आश्रमका अध्यक्ष अधिकारीले असल मनले थालेको काठमाडौँ महानगरपालिकाले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । जग्गा उपलब्ध गराउन भूमिका खेलेको भन्दै नागार्जुन नगरपालिकालाई पनि उहाँले धन्यवाद दिनुभयो ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाले यो यो आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ६ करोड छुट्याएको जानकारी दिनुभयो । थप रकम आवश्यक पर्ने भए सहयोग गर्न तयार रहेको पनि उहाँले जानकारी दिनुभयो ।
सम्झौता अनुसार निर्माण भएको भवन नागार्जुन नगरपालिकाको नाममा निर्माण गरिनेछ र निर्माण हुने भवन शहिद धर्मभतm माथेमा महानगर मानव सेवा आश्रम संचालन गर्न प्रयोग गरिनेछ ।
त्यसैगरी सम्झौतामै निर्माण भएको भवनको नाम सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम रहने उल्लेख छ । सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा समेत मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यल एक निर्देशक समिति समेत रहने व्यवस्था सम्झौतामा गएिको छ । समितिमा काठमाडौं महानगरपालिकाका प्रमुख संयोजक रहने व्यवस्था गरिएको छ भने नागार्जुन नगरपालिकाको प्रमुख सदस्य रहने व्यवस्था छ । समितिमा मानव सेवा आश्रमको अध्यक्ष र काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी एक–एक जना सदस्य रहने छन् । सम्झौता अनुसारको भवन निर्माण कार्य २०७८ मा प्रारम्भ गरी २०८० मा सम्पन्न गर्नुपर्ने बताइएको छ ।
Categorized in राष्ट्रिय

