STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ८, बुधबार

आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयोे । सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको जनाउँदै उपन्यास पढूँपढूँ लाग्ने खालको भएको बताउनुभयो । लेखक डा थापाले अहिलेको समयमा बेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढङ्गले उतारेको तथा समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “उपन्यासले बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतीकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको हो ।” जनयुद्धका क्रममा बेपत्ता पारिएका विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ ।” उहाँले लेखकले परिकल्पना गरेजस्तो बेपत्ता परिवारको पीडालाई बुझेर आत्मालोचना गर्ने पात्र अझै पनि समाजमा पैदा नभइसकेकाले उपन्यास अध्ययनले त्यसतर्फ झक्झक्याउने विश्वास व्यक्त गर्नुभयो । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।
Categorized in विचार