कोरोनाभाइरस : हुबे प्रान्तमा सोमबारमात्रै १०३ को मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार
मृतकको कुल संख्या हजार नाघ्यो
चीनमा फैलिएको नयाँ कोरोनाभाइरस संक्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ । उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक हो । आइतवार मृत्यु हुनेको संख्या ९७ थियो । यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको संख्या एक हजार नाघेको छ । चीनभरि भने कुल मृतकको संख्या १,०११ पुगेको छ । चीनबाहिर दुई जनाको मृत्यु भएको छ । चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन् । त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन् । नयाँ संक्रमण घट्दो सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ संक्रमितको संख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ । हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ संक्रमण भएको पुष्टि गरेको छ । अघिल्लो दिन २,६१८ जनामा नयाँ संक्रमण भएको थियो । अहिले चीनमा उक्त भाइरसको संक्रमण भएका कम्तीमा ४२,२०० व्यक्ति छन् । सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो । यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीरूको टोली बेइजिङ पुगेको छ । सीले भेटे बिरामी चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई सोमवार भेटेका छन् । तर उनी अहिलेसम्म हुबे गएका छैनन् । सीले उक्त भाइरस नियन्त्रण गर्न ‘थप निर्णायक उपाय’ आवश्यक भएको टिप्पणी गरे । “यो प्रकोपलाई अन्ततः परास्त गर्न हामीसँग आत्मविश्वास हुनैपर्छ,” उनलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनबाहिरको स्थिति बेलायतमा सोमबार थप चारजनामा कोरोनाभाइरस भेटिएको पुष्टि भयो । अहिलेसम्म त्यहाँ आठ जनामा उक्त भाइरस भेटिएको छ । सरकारले उक्त भाइरसका कारण ‘गम्भीर खतरा’ उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । जापानमा क्वारन्टीनमा राखिएको एउटा पानीजहाजका थप ६५ यात्रुमा संक्रमण भएको पाइएको छ । अर्थात् ३,७०० यात्रुमध्ये १३५ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ । उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित दुई दर्जनभन्दा बढी देशमा भेटिएको पुष्टि भएको छ । चीनबाहिर अहिलेसम्म फिलिपिन्स र हङ्कङमा एक–एक गरेर दुईजनाको मात्र मृत्यु भएको छ । भाइरस फैलिने आशङ्कामा दक्षिण कोरियाले क्रूजहरूलाई आफ्ना बन्दरगाहमा छिर्न अस्थायी प्रतिबन्ध लगाएको छ ।
साभार : बिबिसी नेपाली सेवा
Categorized in अन्तर्राष्ट्रिय

