STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अझै न्याय पाइनन् सानुमायाले

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २९, बुधबार

सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिनुभएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउनुहुन्छ । नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते कमलपित्त जन्डिस का कारण मृत्यु भएपछि ससुरा रुङ्थे राईले घर निकाला गरेको पीडित राईको भनाइ छ । एक छोरा र दुई छोरीसमेतको जायजन्म भए पनि हाल आफू एक्लै बस्नुपर्ने बाध्यता रहेको सानुमायाको भनाइ छ । दश वर्षको छोरा निरोज राई, छ वर्षकी छोरी निर्जला राई र चार वर्षकी छोरी सिर्जना राई भए पनि ससुराले ज्यान मार्ने धम्की दिएर बालबच्चाको इच्छाविपरीत उनीहरूलाई जबर्जस्ती घरमा राखेर आफूलाई निकालेको उहाँको भनाइ छ । श्रीमान् भए पनि घरमा बारम्बार गालीगलौज गर्ने, खानलाउनसमेत नदिने सानुमायाको गुनासो छ । “छोराछोरी मलाई देख्दा रोइकराई गर्छन्”, राईले भन्नुभयो, “संविधानतः पाँच वर्षको छोराछोरी आमाको साथमा हुनुपर्ने, उचित समयमा शिक्षा पाउनुपर्ने भए पनि त्यसको समेत उल्लङ्घन भएको छ ।” सानुमायाले घर निकाला भएपछि २०७५ असोज २४ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमार्फत उजुरी दर्ता गर्नुभएको थियो । प्रहरीका अनुसार असोज २७ गते छलफल गरी मिलापत्र गराएको भए पनि ससुराले पुरानै व्यवहार दोहो¥याउँदा घरसमेत फर्कन नसकेको राईले गुनासो गर्नुभयो । “घरमा जाने अवस्था भएन, मेरो छोराछोरी लगेर गए”, राईले भन्नुभयो, “म देवरको घरमा बसँे, माइत घरमा जान पनि डर लाग्यो, अहिले मेरो ज्यानको सुरक्षा छैन, तर पनि प्रहरीले समेत न्याय दिलाउन सकेन ।” श्रीमान् हुँदासमेत घरमा खानालाउन राम्रोसँग नपाएको सानुमायाले बताउनुभयो । श्रीमान्को मृत्युपश्चात नेपाली सेनाबाट प्राप्त गर्ने सेवासुविधाका लागि छोराछोरीसहित ‘हेडक्वार्टर’मा जानुपर्ने भए पनि छोराछोरी नदिएपछि सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उहाँको भनाइ छ । “मेरो उद्देश्य केही छैन, आफू अनपढ भएर दुःख पाएकैले पनि जस्तोसुकै कष्ट सहेर भए पनि मेरा छोराछोरीलाई राम्रो शिक्षा दिन्छु ।” प्रहरी कार्यालयबाट समेत न्याय नपाएपछि इन्सेक सोलुखुम्बुको शरणमा आउनुभएकी सानुमायाले आँशु झार्दै भन्नुभयो, “विद्यालय जाने उमेरका मेरा छोराछोरी विद्यालय जान पनि पाएका छैनन्, राम्रो खानलाउन पनि पाएनन्, हरेक अधिकारबाट वञ्चित गराइयो ।” सानुमायाका ससुरा रुङ्थे राईलाई बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले एकपटक सामान्य छलफल गराएको भए पनि पुनः नआएपछि समस्या समाधान भएको महसुस भएको बताउनुभयो । उहाँले तत्कालै प्रहरी कार्यालयमा दुवै पक्षलाई राखी कानूनसम्मत छोराछोरी आमाको जिम्मा लगाउने र सेनाबाट पाउने सेवासुविधा प्राप्त गर्ने वातावरण सिर्जना गरिदिने बताउनुभयो । के छ कानूनी व्यवस्था रु मुलुकी देवानीसंहिता, २०७४ को भाग ३ को परिच्छेद ४ को दफा ११५ को उपदफा १ ९क० मा पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि निजले चाहेमा आमाको जिम्मा, सोही उपदफाको ९ख० मा पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेको बाहेक निजले चाहेमा निजको जिम्मा रहने व्यवस्था उल्लेख छ । उपदफा १ ले सानुमायाको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने देखिन्छ । सोही दफाको उपदफा ४ मा कुनै नाबालक यस दफाअन्तर्गत आमा वा बाबुमध्ये कुनैको जिम्मा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनुपर्ने छ भन्नेसमेत उल्लेख गरेको छ ।
Categorized in अपराध-दुर्घटना