‘उपत्यका आवत–जावतमा थप कडाई गरौँ’ - मेयर शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
विजयरत्न असंबरे
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै उपत्यकाबाट बाहिरिएका नागरिक कतिपय शक्तिको आडमा वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक त विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्सबाट पनि उपत्यका भित्रिने गरेका छन् । उपत्यकामा एकै दिन तीन जना संक्रमित फेला परेपछि अझ उपत्यकाबासीलाई नराम्ररी झस्काई दिएको छ भने यसरी संक्रमित भएकाहरु सबै बाहिरी जिल्लाबाट उपत्यका भित्रिएकाहरु हुन् । ‘एकै दिनमा उपत्यकामा तीन जना कोरोना संक्रमित भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सकारात्मक संकेत होइन । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको पूर्ण नभएका कारण जोखिमको खतरा बढेको छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘यस्तो अवस्था आउन सक्ने आँकलनसहित उपत्यकाका नगरपालिका फोरमले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी उपत्यका भित्र निर्वाध आवत–जावतलाई कडाई गर्नुपर्ने माग गरिसकेका थियौँ । सरकार हाम्रो मागप्रति सकारात्मक छ । तर, कडाइका साथ कार्यान्वयन हुन नसक्दा उपत्यकामा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चिन्ता बढेको छ ।’ उहाँले लकडाउनको ठाडो उल्लङ्घन गर्दै जाने हो भने संघीय सरकारले समेत नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर भएर कडाईका साथ कार्यान्वय गर्नेतर्फ केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । ‘आवत–जावतको होडबाजीले थप समस्या हुन्छ । हामी सुरुदेखि नै उपत्यकाबाट हुने आवत–जावतमा कडाई गर्दै उपत्यकाको चहल–पहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाध रुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यहि कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने । अवस्था नियन्त्रण बाहिर जानसक्छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ ।’ उहाँले केही कठिनाईका बीचमा पनि लामो समयदेखि उपत्यकाबासीले लकडाउनको पूर्ण पालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गर्नुभयो । ‘अझै केही समय तपाईँहरु जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस् । अहिले काठमाडौं नआउनोस् । यसले महामारी नियन्त्रणमा सहज हुनेछ,’ उहाँले भन्नुभयो, ‘केही व्यक्तिको असहयोगले काठमाडौँ उपत्यका भयावह हुनसक्छ । उपत्यका आवत–जावतलाई कडाई गरौँ । म पुनः संघीय सरकारसँग आग्रह गर्छु ।’ Categorized in राष्ट्रिय


