डेढ करोड लागतमा व्यासमूर्ति बनाइँदै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार
दमौली : व्यास जन्मभूमि दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो व्यासको मूर्तिका लागि तनहुँको व्यास नगरपालिकाले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । दमौलीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ निर्माण गर्न लागिएको मूर्तिका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेटमा उक्त रकम विनियोजन गरेको हो ।
व्यास र पराशर क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “१०८ फिट मूर्ति निर्माणको कुरा चलेको धेरै भयो, अब शीघ्र रुपमा यसको काम अगाडि बढाउनुपर्छ”, न्यौपानेले भन्नुभयो, “व्यासकै नामबाट नगरपालिकाको नामकरण भएकाले व्यासप्रति नगरपालिकाको सम्मान छ ।”
नगरको विकासमा पर्यटन क्षेत्रलाई महत्वका साथ प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलको पहिचान गरी पर्यटन क्षेत्रको विकासमा विशेष सहयोग गर्ने नीति नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार दमौली, पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र, छाब्दी बाराही मन्दिर, अकला मन्दिर, तनहुँसुर दरबार, गलेखामकोट, कर्लुङकोट कालिका, क्यामिन कालिका, कालिका शहीद जङ्गलपार्क, मानहुँ, पुलिमराङ, बेनिकोट सिद्धगुफा, महादेव, छाङ्गा बाराहीलगायत क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ ।
व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले वर्षा सकिएलगत्तै पूर्वाधार निर्माणका काम शुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा गण्डकी प्रदेश सरकारबाट प्राप्त रु दश लाख बजेटमा मुख्य प्रवेशद्वार निर्माण गरिएको र उक्त काम अन्तिम चरणमा पुगेको छ । “वर्षायाम सकिनेबित्तिकै मूर्ति निर्माणको कामलाई अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “कोषमा प्राप्त भएको जति रकम छ, सोही बजेटबाट काम अगाडि बढाउने निष्कर्षमा पुगेका छौँ ।”
मूर्ति निर्माणका लागि सङ्घीय सरकारले पनि आगामी आवको बजेटमा रु ५० लाख व्यवस्था गरेको छ । कोषले केही समय अगाडि महायज्ञ लगाएर रु तीन करोड ४८ लाख बचत गर्न सफल भएको छ । गुरुयोजनानुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्छ । विकास कोषको एक्लैको प्रयासले मात्रै सबै काम गर्न सम्भव नरहेकाले यसमा सबैको साथ र सहयोग आवश्यक पर्ने श्रेष्ठले बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदनअनुसार मूर्ति र स्तम्भ निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ । अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।
व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको डिपिआर तयार गरिएको छ ।
निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तलाको स्तम्भ निर्माण गरिनेछ । स्तम्भ निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । स्तम्भ भित्र सङ्ग्रहालय र पुस्तकालय कक्ष प्रस्ताव गरिएको छ ।
गुरुयोजनानुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, चौकीदार घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन र योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र कक्ष, व्यास पुस्तकालय, शौचालय, बगैँचाका साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पुजारी घर, व्यासका साना २७ मूर्ति, व्यासका अनुयायीका पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्छ ।
Categorized in राष्ट्रिय


