मेलम्ची दुर्घटनाबारे छानबिन गर्न प्राविधिक समिति गठन
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
काठमाडाैं - खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ जना प्राविधिकको अध्ययन समिति बनाएको छ।
उक्त समितिले आयोजनाअन्तर्गत सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अम्बाथानभित्र रहेको टनेल नम्बर १७ को ढोका खुल्नुकाे कारणबारे अध्ययन गरी प्रतिवेदन दिनेछ।
मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिनुभयो ।
त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको तामाङले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । ढोका फुटे पनि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।
Categorized in राष्ट्रिय


