relans
ni new 83
nib 2082 5

फर्पिङको हरिशङ्कर खटयात्रा क्षमा पूजामै सीमित

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार

काठमाडौँ – दक्षिणकाली नगरपालिकाको फर्पिङमा मनाइने हरिशङ्कर यात्रा यस वर्ष क्षमा पूजा गरेर मनाइएको छ । भाद्र शुक्ल पूर्णिमादेखि १२ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशङ्कर जात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले क्षमा पूजा गरी स्थगित गरिएको दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिनुभयो । यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको विस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ । भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् शुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि शुरु हुने गरेको छ । यात्राको समाप्ति आश्विन शुक्ल प्रतिपदाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुन्छ । यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्तिहरु स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूला हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ । हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धहरु बताउँछन् । फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि शुरु भएको विश्वास गरिन्छ । वाणासुर चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वय समेत रहेको स्थानीयवासीको भनाई छ । यस वर्ष जात्रा गर्न नसकिए पनि जात्रासँग सम्बन्धित सात वटै मन्दिरमा क्षमापूजा गरिएको फर्पिङ जात्रा पर्व व्यवस्थापन समितिले जनाएको छ ।
Categorized in उपत्यका
ppp 2