मन्त्रिमण्डल पुनर्गठन • विष्णु पौडेल अर्थमन्त्री • कृष्णगोपाल सहरी विकासमन्त्री • भोलि शपथ ग्रहण
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २८, बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।
यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् ।
नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गरेकी हुन् ।
यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो ।
यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् ।
योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।
नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहीबार सपथग्रहण गर्नेगरी तयारी थालिएको छ । यद्यपी समय भने तय भइसकेको छैन ।



