STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जब साँझ पर्छ,  अनि थिमि नाच्छ

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु ः अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् ।
मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको देखिन्छ । 
त्यसपछि  त्यही धिमेको तालमा पूरै थिमि नाच्न थाल्छ ।  दुईदिनदेखि दैनिक यसैगरी थिमि नाचिरहेको छ । स्थानीय बासिन्दा एवं साहित्यकार नवीनप्रकाश श्रेष्ठको परिकल्पना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा पहिलो पटक शुरु भएको ‘खुला धिमे नृत्य प्रशिक्षण’ सिक्नेका लागि मात्रै नभई हेर्नेका लागि पनि निकै आनन्द छ । धिमेका सयौँ तालमध्ये आइतबारदेखि यही चैत २९ गतेसम्म १५ तालबारे प्रशिक्षण चलिरहेको छ । 
बिस्का अर्थात् बिस्केट जात्रा जति नजिकिँदै छ, चहलपहल पनि त्यत्तिकै बढ्दैछ ।  बिस्केट जात्रामा अनिवार्य रुपमा टोल टोलमा धिमे बाजा बज्छ ।  “धिमेको तालमा नाच्न भने कमैलाई आउँछ । धिमे बाजा बजाउनेहरु थपिए पनि धिमेको सयौँ तालमा नाच्नेहरु भने घट्दैछन् । त्यसैले धिमेको तालमा नाच्न सिकाउनकै लागि पहिलो पटक भिडियोमार्फत धिमे प्याखँ खुला रुपमा प्रशिक्षण दिन शुरु गरेका हौँ”, परिकल्पनाकार श्रेष्ठ भन्नुहुन्छ । हरेक वर्ष थिमिमा पनि बिस्केट जात्रा चल्छ तर भक्तपुरमा जस्तो लिङ्गो उठाउने र रथ तान्ने नभई जिब्रो छेड्ने,  सिन्दूर जात्रा र ३२ खटयात्रा चल्छ । थिमिको मूल विशेषता नै यिनै तीन जात्रा हुन्, यसैमा रातदिन गरी अन्य जात्रा पर्छन् । बिस्केट जात्रा बुधबारदेखि शुरु भई आगामी वैशाख ५ गतेसम्म चल्नेछ । 
बिस्केटमा मात्र नभई हरेक जात्रा, पर्व, शुभकार्यदेखि सभासम्मेलन र अतिथिको स्वागतमा समेत बजाइने धिमे बाजाको तालमा नाच्न नजान्दा जात्रा पर्वमा जथाभावी नाच्ने, चिच्याउने तथा हुलहुज्जत गर्ने क्रम बढेकाले नाचलाई व्यव्स्थित गर्दै यसलाई जोगाउन खुला प्रशिक्षण आयोजना गरिएको उहाँले बताउनुभयो । 
श्रेष्ठ भन्नुहुन्छ, “धिमेका सयौँ ताल छन्, त्यसमध्ये अहिलेलाई १५ वटा तालमा नाच प्रशिक्षण दिएका छौँ,  बिस्केट जात्रा अगाडि चैत २९ गतेसम्म दुई हजार जनालाई सिकाउने उद्देश्यले खुला प्रशिक्षण दिएका हौँ, यसले पछिल्लो पुस्तालाई नाच हस्तान्तरणसमेत गर्छ र परम्परा जोगाउँछ ।”
हरेक दिन साँझ ६ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुने धिमे प्याखँ९नाच०मा नागरिकलाई नाचमा साथ दिन नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत पूर्व र वर्तमान जनप्रतिनिधि आइपुग्छन् ।  नागरिकसँंगै जनप्रतिनिधिले पनि धिमे प्याँख सिक्ने गरेका छन् । 
नगरप्रमुख श्रेष्ठ ठूलो सङ्ख्यामा एकै पटक धिमेको तालमा नाच सिक्न सकिने भएकाले यो आकर्षक भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसले हाम्रो संस्कृतिको संरक्षण मात्रै नभई नयाँ पुस्तालाई यो नाच हस्तान्तरण पनि गर्नेछ ।” नाच प्रशिक्षणमा युवकयुवतीदेखि पाको उमेरका नगरवासीको समेत दैनिक रुपमा उल्लेख्य सहभागिता रहने गरेको छ । 
Categorized in राष्ट्रिय