निष्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई मेयर शाक्यको आग्रह
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २४, शनिबार
काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको छ । शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरणपछि सो सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गर्नुभयो । चाहिने भन्दा पनि बढी लेपन गरेर समाचारलाई बङ्ग्याइयो भने त्यसले गलत सन्देश दिन्छ भन्नु हुँदै मेयर शाक्यले व्यावसायिक हिसाबले मात्रै पत्रकारिता गर्दा वा आफ्नो रोजगारी जोगाउने मात्रै उद्देश्यले गलत सन्देश दिने गरी समाचार संप्रेषण गरियो भने त्यसले सिङ्गो समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्न सक्छ र त्यस्ता कुरामा पत्रकारहरु सचेत हुनुहुन्छ र अझ सचेत हुनु पर्ने अपेक्षा मेयर शाक्यको छ ।
उहाँले कतिपय अवस्थामा सामाजिक सञ्जाल र मिशन पत्रकारिताका नाममा समाजलाई दिग्गभ्रमित पार्ने काम भएको र त्यसको मारमा स्वयं पनि पर्ने गरेको गुनासो गर्नुभयो ।
उहाँले जति धेरै गाली गर्यो त्यति धेरै चर्चामा आउने र त्यस्ता समाचारले पनि बढी स्थान पाउने भएकाले त्यस्तो अवस्थाको न्युनिकरणतर्फ लाग्नु पर्नेतर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्ने क्रममै मेयर शाक्यले नेकपा भित्रको विवादका कारण मुलुक नै गम्भीर समस्यामा गुज्रिरहेको बताउनुभयो ।
कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, राष्ट्रियसभाका सांसद रामनारायण बिडारीलगायतले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा अग्रज वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई पत्रकार अशोक श्रेष्ठ स्मृति पुरस्कार र दृष्टि पत्रिकाका सम्पादक शम्भु श्रेष्ठ लाई अग्निशिखा स्मृति पुरस्कार लगायत विभिन्न पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
Categorized in उपत्यका

