ओलीको बोली फेरियाे – संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेकै छैन
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार
कञ्चनपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे बाेली फेरेर आफूले न्यायालयलाई नधम्काएको दाबी गरेका छन्।
सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू अदालत र न्यायालयप्रति विश्वास गर्ने बताएका हुन्। गत शनिबार विराटनगरमा भएको आमसभामा ओलीले ‘संसद् पुनस्र्थापना गर्ने फैसला भएमा आन्दोलन हुन्छ’ भनेका थिए ।
‘स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तलाई मैले सदैव मानेको छु,’ ओलीले भने, ‘अदालतको निर्णय गलत हुन सक्दछ। त्यस्तो अवस्थामा पुनरावलोकन गर्न सकिन्छ। तर धम्की दिने काम कहिल्यै गरिँदैन।’ उनले दुई चार दिनमै प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला आउने दोर्होयाए।
‘संसद पुनस्र्थापना नभए केहीलाई राजनीति सकिने चिन्ता बढेको होला’, प्रधानमन्त्री ओलीले भने, ‘तर हामीलाई त्यसो चिन्ता छैन, हाम्रो विकासको आन्दोलन जारी रहनेछ। मैले संसद् पुनस्र्थापना भए पनि विकासको आन्दोलन हुन्छ भनेको हुँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले साढे २ वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिए । ‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु, उनले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।’
Categorized in राजनीति

