नेवा: पत्रकार राष्ट्रिय दबू येँ जिल्लाको साधारणसभा सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १९, बिहिबार
नेवा: पत्रकार राष्ट्रिय दबू येँ (काठमाडौं) जिल्लाको छैठाैं साधारणसभा बुद्धबार सम्पन्न भएको छ। काठमाडौं जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंको सभापतित्वमा लखतिर्थस्थित कार्यालयमा सम्पन्न सभामा दबूका सचिव रत्नकाजी महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै, कोषाध्यक्ष राजेन्द्र मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि का रुपमा उपस्थित नेवा: पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले पहिला आफू नेवा: भएको भन्दै त्यसैले अहिले नेवा: पत्रकारहरु रुपमा पहिचान बनाउन सकेको बताए। उनले काेभिड माहामारीकाे अवस्थामा काठमाडौं जिल्ला शाखाले कामकाे प्रशंसा गरे। कोरोना महामारीका कारण गरिएको लकडाउनका बेलामा काठमाडौं जिल्लाका ११९ सदस्यहरुलाई सहयाेग गरेको काठमाडौं जिल्लाको उच्च मूल्यांकन हुने बताए।
कार्यक्रमकी अतिथि दबूकी केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठले वार्षिक प्रतिवेदनबाट काठमाडौं जिल्ला शाखाले गरेका कामहरुका बारे प्राप्त जानकारीबाट प्रभावित भएकाे भन्दै सबल नेतृत्वबाट नै संस्था राम्रो दिशातिर अघि बढ्ने बताइन्। उनले काठमाडौं जिल्लाले लखतिर्थमा आफ्नै कार्यालय खोलेकोमा प्रशंसा गरिन्।
कार्यक्रमका सभापति काठमाडौं जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंले 'टिमवर्क'का कारणले नै काठमाडौं जिल्लाले राम्रो काम गर्न सकेको बताए। १५ जनाको कार्यसमितिका सदस्यहरु संस्थाका १५ खम्बा रहेको भन्दै उनले सबैको मेहनतले नै काठमाडौं जिल्ला उल्लेखनीय हुन सकेको सिंले बताए भने दबूले बैशाखमा सानुकाजी स्मृति फुटसल र पत्रकारिता तालिम, जेठमा स्वयम्भूमा बृत्तचित्र प्रदर्शनी र फोटो प्रदर्शनी गर्ने कार्यक्रम पनि तय गरेको कुरा बताए ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई नागरिक अभिनन्दन गर्ने तयारी दबूले गरेको कुरा दबूका येँ जिल्ला अध्यक्ष सिंले जानकारी दिए। यही चैत्र २४ गते बसन्तपुर दबलीमा हुने कार्यक्रममा सबैले सहयोग गरेर भाषिक आन्दोलनबाट प्राप्त उपलब्धीलाई साथ दिन उनले आह्वान गरे।
Categorized in उपत्यका

