महिलाहरुको लागि तीन महिने स्वरोजगार र आत्मनिर्भरता तालिम सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ९, बिहिबार
ललितपुर नगरपालिका १६ वडा कार्यालयको आयोजना र गर्जियस इन्ष्टिच्यूसन अफ फेशन टेक्नोलोजी (गिफ्ट) को संयोजनमा सञ्चालित तीन महिने फेसन डिजाईन तथा सिलाई तालिम मंगलबार समापन गरियो ।
सो तालिम तीन महिनासम्म सञ्चालन गरिएको हो । बजारको चाहना र माग अनुसार नयाँ नयाँ डिजाईनका पहिरन तयारमा महिलाहरुलाई दक्ष बनाउने उद्देश्यले सो तालिम आयोजना गरेको १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो भने उहाँले सीप सिकेर महिलाहरु आत्मनिर्भर र सिलाईमा अझ दक्ष बनोस् भनेर तालिम सञ्चालन गरेका हौं भनि वडाअध्यक्ष शाक्यले भन्नुभयो ।
सो तालिममा सिलाई सम्बन्धी आधारभुत ज्ञान र सीप भएका ३० जना महिला सहभागी भएका थिए । सहभागीहरुलाई बजारमा चलनचल्तीमा रहेका फेशन डिजाईनसंगै नेपालको साँस्कृतिक पहिचान झल्काउने लुगाहरु पनि विभिन्न डिजाईन अनुरुप सिलाउन सक्ने ज्ञान र सीप सिकाइएको गर्जियस इन्स्टिच्युट अफ टेक्नोलोजी (गिफ्ट)का निर्देशक शोभा महर्जनले बताउनुभयो ।
तालिमका प्रशिक्षकहरु लेजिना महर्जन र रविका महर्जन रहनुभएको छ । सन् २०११ मा स्थापना भएको सो संस्था गिफ्टले आधुनिक तथा परम्परागत भेषभुषाका विभिन्न डिजाइनहरु तयार गर्दै आएको छ । यसै गरी सो टेक्नोलोजीले थुप्रै म्युजिक भिडियोका लागि पहिरन डिजाईन गरिसकेको छ भने विभिन्न साँस्कृतिक कार्यक्रम र फेशन डिजाईनका कार्यक्रमहरु लागि पनि आधुनिक तथा परम्परागत भेषभुषा डिजाईन गर्ने काम गर्दै आइरहेको टेक्नोलोजीले जनाएको छ । तालिमको कीर्तिपुरस्थित जलविनायकमा आयोजित एक समारोहकाबीच समापन गरियो । सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Categorized in साहित्य-कला

