जसपाकाे बैठक विना निर्णय टुंगियाे, बैठक आज पनि जारी
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३०, बिहिबार
जनता समाजवादी पार्टीले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन बुधबार शीर्ष नेताबीच छलफल गरे पनि निर्णय लिन सकेन । आज बिहीबार पुनः बैठक बस्ने तयारी भइरहेकाे जनाइएकाे छ ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरू आएको नेता बाबुराम भट्टराईले जानकारी दिए । लोकतान्त्रिक पार्टी भएकाले फरक-फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले बिहीबारसम्म पार्टीको एकीकृत धारणा तय गरिने जानकारी दिए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकीकृत निर्णय गरिने उनले बताए ।
उहाँले भन्नुभयो 'हाम्रो पार्टीको दुई खेमा होइन । फरक फरक विचारहरू छन् । यो स्वाभाविक हो लोकतन्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको विकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने बिहीबार अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । अहिले निष्कर्षमा पुगिसकेका छैनौँ । बिहीबारसम्ममा निष्कर्षमा पुग्छौँ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडि बढिरहेका छौँ ।'
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई तीन दिनको समय दिएकी थिइन् । सो समय भोलि सकिँदै छ ।
Categorized in राजनीति

