STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१६ वटा स्ट्रीङ्गको सारंगी निर्माता कीर्तिपुरका हरिशरण नेपाली

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ श्रावण २५, सोमबार

‘सारंगी त बनाएँ, तर विक्रेता छैन । राज्यस्तरबाट पनि वास्ता गरेको छैन । नेपालको संगीत क्षेत्रले पनि चासो देखाएको छैन ।’ यो भनाई हो कीर्तिपुरका बरिष्ठ सारंगीवादक हरिशरण नेपालीको ।

बि.सं. २०१५ साल कार्तिक २२ गते जन्मनु भएका कीर्तिपुर नगरपालिका ९ वडा ध्वाखासि टोलका बरिष्ठ सारंगीवादक हरिशरण नेपालीले १६ वटा तार (स्ट्रीङ्ग) भएको सारंगी बनाउनु भएको छ । नेपालको ऐतिहासिक महत्वको मौलिक बाजा सारंगीमा विशेष रुपमा चार वटा मात्र तार हुने गर्छ । तर, बरिष्ठ सारंगीवादक हरिशरण नेपालीले १६ वटा तार राखी भव्य सारंगी बनाउनु भएको छ । सायद, यही सारंगी इतिहासको पहिलो सारंगी हुनुपर्छ १६ वटा तार भएको सारंगी । यो विशेष कीर्तिपुर क्षेत्रको मात्र गौरव नभई समग्र नेपाली संगीत इतिहास कै गर्वको कुरो हो । १६ वटा तार भएको सारंगी सामान्य मात्र ४ वटा तारवाला सारंगी भन्दा पनि धेरै गह्रुँगो र ठूलो छ । अनि उक्त सारंगीको आवाज पनि अति झंकारयुक्त एवं स्तरीय र तरंगित छ ।

सारंगीवादक हरिशरण नेपालीले १६ वटा तार भएको सारंगी बि.सं. २०५८ सालमैं बनाएको जानकारी दिनुभएको छ भने उहाँले १६ वटा तार भएको सारंगी मात्र नभई, सर्वप्रथम इलेक्ट्रिक सारंगी पनि बनाउनु भएको छ । साथै उहाँले ८ वटा तार र १२ वटा तार भएको सारंगी पनि बनाइसक्नु भएको छ । उहाँले यस्ता सारंगी बि.सं. २०६०÷०६१ सालतिर बनाएको जानकारी दिनुभएको छ भने २०६२÷०६३ सालतिर १६ वटा तार भएको सारंगीको उद्घाटन गरको जानकारी पनि दिनुभएको छ । सारंगीवादक नेपाली भन्नुहुन्छ, ‘सारंगी त बनाएँ, तर विक्रेता छैन । राज्यस्तरबाट पनि वास्ता गरेको छैन । नेपालको संगीत क्षेत्रले पनि चासो देखाएको छैन ।

सारंगी बाजा जाति विशेषको बाजा नभइ समग्र नेपालकै मौलिक बाजा भएको ठोकुवा गर्दैै सारंगीवादक हरिशरण नेपालीले आजकल सारंगी बाजालाई संगीत क्षेत्रले विशेष महत्व दिई प्रोत्साहन गरिरहेको व व्यवसायिक रुपबाट पनि सबल हुनसक्ने परिस्थिति भइसकेको विचार राख्नुभएको छ ।

नेपालका लोकसंगीत सम्राट स्वर्गीय रामशरण नेपालीका माईला भाई हरिशरण नेपाली गितारवादनमा पनि खप्पिस संगीतसाधक हुन् । तर, उहाँले आफ्ना दाजु रामशरण नेपालीको सारंगीवादनबाट प्रभावित भई सारंगीवादनमा मन समर्पित गरेको जानकारी दिनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘राष्ट्रिय नाचघरमा मेरा दाजु रामशरण नेपालीको सारंगीवाद शो भएको समय दाजुको सारंगीवादन कलाबाट अति प्रभावित भई मैले गितारवादन छोडी सारंगीवादनलाई अंगालेको हुँ ।’

१५ वर्षको उमेरदेखि संगीत क्षेत्रमा खुल्ला रुपमा पाईला चाल्दै आइरहनु भएका सारंगीवादक हरिशरण नेपालीले कीर्तिपुरमा हुने अधिकांश सांस्कृतिक एवं सांगितिक कार्यक्रमहरुमा आफ्नो कला पस्किसक्नु भएको छ भने उहाँले कीर्तिपुर क्षेत्रमा मात्र नभई काठमाडौं उपत्यका एवं उपत्यका बाहिर तथा देश बाहिरसम्म पनि आफ्नो सारंगीवादनको प्रतिभा प्रस्तुत गरिसक्नु भएको छ र यो क्रम निरन्तर जारी रहेको छ ।

सारंगीवादक हरिशरण नेपालीका स्वर्गीय बुबा कान्छा मगर नेपाली कीर्तिपुर एवं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रका चर्चित सारंगीवादक हुनुहुन्छ । त्यो समय पर्यटकहरुलाई सारंगीवादन कलाः सुनाई ती पर्यटकहरुलाई सारंगी बिक्री गर्ने गर्थे हरिशरण नेपालीका पिता कान्छा मगर नेपाली । हरिशरण नेपालीले पनि काठमाडौंको पर्यटकीय स्थल स्वयम्भूमा पर्यटकहरुका लागि सारंगीदेखि विभिन्न पर्यटकीय सामाग्री विक्रि वितरणको व्यावसायिक पसल संचालन गर्दै आइरहनु भएको छ । हरिशरण नेपाली भन्नुहुन्छ, ‘आजकल कोरोना महामारीका कारण भएको लकडाउनले व्यापार व्यवसाय ठप्प छ । आजकल फुर्सदको समय सदुपयोग गरी सारंगीसंग घुलमिल गरिरहेको छु ।’

सारंगीवादक हरिशरण नेपालीका परिवारका विषयमा भन्नु पर्दा, उहाँको घर नै संगीत मन्दिर भने पनि फरक नपर्ला । उहाँका बुबा कान्छा मगर नेपाली, दाजु रामशरण नेपालीदेखि उहाँका भाई भिभा नेपाली एक प्रतिभावान् तबलाबादक हुन । यस्तै, उहाँका भतिज श्याम नेपाली, विश्व नेपाली, राहुल नेपाली हालका प्रतिभावान् चर्चित कलाकारहरु हुन् । यस्तै उहाँकी बहिनी शान्ति नेपाली पनि एक प्रतिभावान् गायिका हुन् ।

सारंगीवादक हरिशरण नेपालीका कान्छो छोरो किरण नेपाली चर्चित सांगितिक फ्युजन ब्याण्ड ‘कुतुम्ब’का एक कलाकार हुन् भने जेठो छोरो दीपक नेपाली टेबलटेनिस खेलका दिग्गज खेलाडी एवं व्यवसायी हुन् ।

यस्तै, हरिशरण नेपालीका नाति प्रिन्स नेपाली र प्रिन्सका भाई आजकल युवापुस्ताका प्रतिभावान् कलाकारका रुपमा अवतरण भइरहेका छन् ।

गीत गाउनेलाई सम्मान स्वरुप ‘गाइने’ भन्ने प्रचलन नेपाली सांगितिक इतिहासमा प्रचलित छ । यस समुदायलाई ‘पेटदेखि नै संगीत सिकेर आउने संगीतकर्मी’को रुपमा चलन छ । यही समुदायभित्रका बरिष्ठ सारंगीवादक हरिशरण नेलालीले अब छिट्टै आफ्ना पारिवारिक सांगितिक कार्यक्रम गर्ने योजना बुनिरहनु भएको छ ।

Categorized in साहित्य-कला