काठमाडौंमा पाहाँचःह्रे मनाइयो
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार
काठमाडौं - हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँचःह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो। यसलाई पासाचःह्रे, पिसाच चतुर्दशी तथा लाभाचःह्रे पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चःह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ। पाहुना र साथीलाई समेत नखत्या बाेलाइन हुँदा यसलाई पासाचःह्रे भनिएको हो । यसैगरी यस दिन लुकेकाे महादेव - लुकुमाःद्यःकाे पुजा गरिने र यसकाे लागि लसुन - लाभा - नराखी नहुने हुँदा लाभानखः पनि भनिएको हो ।
पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ भने साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ। लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गरिन्छ। घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ।
त्यसैगरी कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ। अजिमाहरुमध्ये लुतिमरु (इन्द्रायणी)अजिमाकाे जात्रा मात्र यस दिन हुन्न । लुतिमरुकाे जात्रा बालाचःह्रेको दिन हुने गर्दछ । पाहांचःह्रेकाे दिन अजिमाहरुकाे खटजात्रा हुने र टुँडिखेल र असनमा द्यः ल्वाकेगु भनेर अजिमाको खटहरु भेला गरी चिलाख साट्ने पनि गरिन्छ ।
Categorized in उपत्यका

