कीर्तिपुरबाट ६ जना स्रष्टा पेजथ्री अवार्डबाट सम्मानित
Janjati Khabar – ललेन्द्र शाक्य | २०७९ बैशाख ४, आइतबार
पेजथ्री अवार्ड ११४२ : कीर्तिपुरबाट एरोन महर्जन र भुवन महर्जन हिरो
लामो समयदेखि प्रतिक्षारत् चौथो संस्करणको पेजथ्री पब्लिक च्वइस अवार्ड ११४२ बैशाख ३ शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ ।
उक्त पेजथ्री अवार्ड वितरण कार्यक्रममा ऐतिहासिक नगरी कीर्तिपुरबाट १९ जना स्रष्टाहरु उत्कृष्ट नोमिनेशनमा पर्न सफल भएको थियो भने ६ जना प्रतिभावान् स्रष्टाहरु पेजथ्री अवार्ड उचाल्न सफल हुनुभयो ।
कीर्तिपुरबाट रिलिज भएको भुुवन महर्जन रचित एवं संगीतबद्ध तथा प्रिन्स नेपालीको संगीत संयोजन रहेको र बालगायक एरोन महर्जनको स्वर समाहित ‘यो मां...’ बोलको गीतबाट उत्कृष्ट नोमिनेशनमा उत्कृष्ट बाल गीत गायक विधामा एरोन महर्जन, उत्कृष्ट संगीत आधुनिक विधामा भुवन महर्जन र उत्कृष्ट संगीत संयोजन आधुनिकमा प्रिन्स महर्जन उत्कृष्ट नोमिनेशनमा परेको थियो भने उक्त ‘यो मां...’ गीतबाट उत्कृष्ट संगीत आधुनिक विधाबाट भुवन महर्जन र उत्कृष्ट बालगीत गायक विधाबाट एरोन महर्जनले पेजथ्री अवार्ड ११४२ उपाधि जित्न सफल हुनुभयो ।

यस्तै कीर्तिपुर क्षेत्रबाटै उत्कृष्ट गायन महिला विधामा ‘खंकेगु हे खःसा...’ गीतबाट स्वस्ती महर्जनले उत्कृष्ट गायन महिला विधामा पेजथ्री अवार्ड ११४२ उपाधि जितिन् भने ‘छु जुल रे...’ बोलको गीतबाट उत्कृष्ट महिला गायन आधुनिक गीत विधामा कीर्तिपुरकै चर्चित गायिका रत्नशोभा महर्जनले पेजथ्री अवार्ड ११४२ उचाल्न सफल भइन् ।
अवार्ड चुम्ने क्रममा कीर्तिपुरकी अनु (बुद्धलक्ष्मी) महर्जनले उत्कृष्ट महिला कलाकार मुख्य भूमिका विधामा ‘बसन्त ऋतु’ चलचित्रबाट उक्त विधाको पेजथ्री अवार्ड उचालिन् भने चर्चित कलाकार कीर्तिपुर पांगाकी पल्पसा डंगोलले उत्कृष्ट महिला कलाकार सहभूमिका विधामा ‘घोषक’ चलचित्रबाट अवार्ड जित्न सफल भइन् ।
कार्यक्रममा लाइफटाइम एचिभ्मेन्ट अवार्ड हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो भने कलाकार अन्नपुर्णेश्वरी श्रेष्ठ, गीतकार वि नन्द वैद्य र गीतकार एवं ललितपुर १६ वडाध्यक्ष निर्मलरत्न शाक्यलाई विशेष जुरी अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड आयोजक ईलोहँ प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने आयोजक संस्थाका संयोजक दर्शनवीर शाक्यले स्वागत मन्तव्य दिनुभएको थियो ।
Categorized in साहित्य-कला

