STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिकामा वडा सचिव कार्यवाहक अध्यक्ष

Janjati Khabar | २०७९ बैशाख ९, शुक्रबार

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो । यही व्यवस्थाबमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न अधिकार दिने निर्णय भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ । सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ ।

त्यसैगरी बैठकले नन्दीरात्रि माध्यमिक विद्यालय नक्सालमा राजेश हुमागाईँ र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ ।

Categorized in उपत्यका