काठमाडौँलाई सांस्कृतिक नगर तथा राजधानी रुपमा साँचिकैको काठमाडौँ बनाउने हो : सुनिता डंगोल
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ११, आइतबार
नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार भएका सुनिता डंगोलले आफ्नो उद्देश्य काठमाडौँलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौँ बनाउने हो भनेका छन् ।
यसअघि काठमाडौं मेयर पदका लागि स्वतन्त्र उम्मदेवारी दिने घोषणा गरेका डंगोलाई एमालेले उपमेयर पदको लागि उम्मेदवार बनाएका थिए । यसै सन्दर्भमा आज एक विज्ञप्ति जारी गर्दै उनले सो निर्णयलाई स्विकार गर्दै पार्टीप्रति आभार प्रकट गरेकी छिन् ।
मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे पनि आफ्नो एजेण्डा मिल्ने पार्टीसँग सहकार्य गर्न सकिने बताउँदै आएका उनीले यसको लागि एमालेलाई स्विकारेका हुन् । आफूलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले क्रियाशील युवाहरु, दक्ष महिलाहरु, सामाजिक-साँस्कृतिक अभियन्ताहरु सवैलाई सम्मान गरेको पनि उनले विज्ञप्तिमा बताएकी छिन् ।
उप-मेयरको जिम्मेवारी दिनुलाई उनीले आफूसहित युवा, महिला, सामाजिक-साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर भनेकी छिन् ।
विज्ञप्तिको पूर्णपाठ
यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि यस अघि नै मैले काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको विदितै छ । मेयर पदको मेरो घोषणालाई आम मतदाता र शुमेच्छुकले देखाएको अनन्त स्नेहले मलाई प्रफुल्लित मात्रै होइन म जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको छ । त्यति मात्रै होइन काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने मेरो सपनालाई मूर्तरुप प्रदान गर्न युवाहरु लगायत आम काठमाडौंबासीहरुको भरपर्दो साथ, सहयोग र समर्थन छ र हुनेछ भन्ने मेरो अपेक्षा पनि थप बलियो बन्दै गएको छ । म प्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकका लागि मैले इमान्दारीतापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुट्किलो हो । मैले राजनीतिकै माध्यमबाट निंकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ । मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक-सामाजिंक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएँ । वास्तवमै मेरो उद्देश्य काठमाडौँलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौँ बनाउने हो। त्यसैले यो पटक मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठूलो ठान्दै नेकपा(एमाले) र सो पार्टीका आदरणीय अध्यक्ष तथा शीर्ष नेतृत्व तहको म प्रतिको विश्वासलाई स-धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै म नेकपा(एमाले)को तर्फबाट उप-मेयरको उम्मेदवार बन्ने निर्णय गरेकी छुँ ।
नेकपा(एमाले) जस्तो दर्विलो संगठन भएको जनतालाई मनपर्ने सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर
उप-मेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक-साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु, म जस्ता दक्ष महिलाहरु, सामाजिक-साँस्कृतिक अभियन्ताहरु सवैलाई गरेको सम्मान हो ।
अहिले उप-मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरुकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरुले म माथि गरेको विश्वार र भरोसालाई कुठराघाट गर्ने छैन । तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा(एमाले)को सबै उम्मेदवारहरुलाई अत्यधिंक मतले विजय गराउन अनुरोध गर्दछु ।
धन्यवाद ।
सुनिता डंगोल
उपमेयर पदको उम्मेदवार
काठमाडौँ महानगरपालिका



