नेवार भाषा, संस्कृतिकाे संरक्षणमा जोड दिन मन्त्री श्रेष्ठको आह्वान
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र १८, शनिबार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेवार समुदायको भाषा, संस्कृति र संस्कार नै पहिचानको मूल आधार भएकाले त्यसको संरक्षणमा लाग्न सबैलाई आव्हान गर्नुभएको छ । नेवार समुदायको मात्र नभइ देश कै संस्कृति र संस्कार दिनदिनै ओझेलमा पर्दै गएको चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो ।
नेपाल (नेवार) भाषाको साप्ताहिक पत्रिका ‘लहना’को ४०० अङ्क प्रकाशन भएको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा यो आव्हान गर्नु भएको हो । मन्त्री श्रेष्ठ सो कार्यक्रममा लहना पन्चवीर सिरपाबाट सम्मानित हुनु भएको थियो ।
पत्रिकाका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद राजेश शाक्य, नेपालभाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वा, काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य, लगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लहना पत्रिकाका सुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य राख्दै लहना टिमले अब लहना टेलिभिजन खोल्ने उद्घोष गरे भने लहना पत्रिकाका सम्पादक नृपेन्द्र लाल श्रेष्ठले लहना पत्रिकाको सफलतामा योगदान पुर्याउनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सम्मान प्रदान
यसैगरी लहना पत्रिकाका व्यवस्थापन समूहले सो अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नेपालभाषाको शिक्षाको विकास र सम्बर्द्दन मा अतुलनीय योगदान पुर्याउनु भएको योगदानको कदर स्वरुप सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्या सुन्दर शाक्य र भाषा क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका अग्रज व्यक्तित्व मल्ल के सुन्दर श्रेष्ठलाई सर्वोच्च सम्मान स्वरुप लहना पन्चवीर सिंह तुलाधर सिरपा प्रदान गरिएको थियो । लहना पत्रिकाले प्रत्येक वर्ष प्रदान गर्ने गरिएका विभिन्न पुरस्कारहरु गत दुई वर्ष कोरोना कहरको कारणले प्रदान गरिएको थिएन भने यो वर्ष तीन वर्षको पुरस्कार एकसाथ प्रदान गरिएको हो ।
पत्रकारिता माध्यमबाट नेवार समुदायको उत्थानमा योगदान दिएको कदर स्वरुप लहना धर्म मोति सिरपाबाट प्रजित शाक्य, विराजकाजी राजोपाध्याय र रत्नकाजी मन, लहना शर्मिष्ठा सुर सम्मानबाट रामकृष्ण खडगी, स्वतन्त्रसंसारं महर्जन र यलु जोशीलाई प्रदान गरियो । यस्तैगरी लहना न्यु जेनिथ फोटो पत्रकारिता सिरपा अनुप शाक्य, गुणराज शाक्य र श्याम कुमार था लाई प्रदान गरियो । लहना केशव कृष्णवदन मातृभाषा सिरपा नविन जोशी , नजरराम महर्जन र पुर्णिमा शाक्यलाई प्रदान गरियो । यस्तै शरद कुमार डंगोल, प्रकाश अमात्य, अमृतचन्द्र श्रेष्ठ लगायतलाई लहना विशेष सम्मान प्रदान गरिएको थियो ।
Categorized in उपत्यका

