विश्व कीर्तिमानी सङ्गीतकार सन्तोषको उपन्यास ‘फरैना’ सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २६, आइतबार
सयौं गीतमा समधुर सङ्गीतमार्फत श्रोता/दर्शकको मन जित्न सफल सन्तोष श्रेष्ठले संगीतकार का रुपमा कैय्यौं विश्व कीर्तिमान कायम गरिसकेका छन् भने अब उपन्यासकारमा रुपमा पनि अगाडि आउनुभएको छ । उहाँको पहिलो उपन्यास कृति ‘फरैना’शुक्रबार काठमाडौंमा एक विशेष समारोह बीच उहाँको ‘फरैना’ उपन्यास विमोचन गरिएको हो ।
सांसद शान्ता चौधरी, गीतकार डा. कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा. भीमार्जुन आचार्य र नायक राजेश हमाल अनि उपन्यासकार श्रेष्ठले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको थियो ।
गीत सङ्गीत, साहित्य र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको विमोचन समारोहमा सांसद चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गर्नुभयो ।
यस्तै, गीतकार डा. कृष्णहरि बरालले प्रकृतिको सुन्दर चित्रणसहित मानवीय संवेदनालाई यस उपन्यासले सशक्त रुपमा प्रस्तुत गरेको बताउँदै गायक र सङ्गीतकारका रुपमा उचाईमा पुगेको सन्तोषको व्यक्तित्वमा अब उपन्यासकार जोडिएको बधाई तथा शुभकामना दिनुभयो ।
त्यस्तै, डा. भिमार्जुन आचार्यले बनोट र बुनोटका हिसाबले हेर्दा अत्यन्त माझिएको अभिव्यक्तिले फरैना पठनीय बनेको टिप्पणी गर्नुभयो ।
त्यसैगरी, महानायक राजेश हमालले यो कृति संवेदनलाई सरलीकरण गरिएको सुन्दर नमुना हो भन्ने जिकिर गर्नुभयो ।
कृतिकार श्रेष्ठले आफनो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको बताउनुभयो । उहाँले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कोरोना महामारीका कारण भएको बन्दाबन्दीको समयमा उपन्यास लेखेको अनुभव उहाँले सुनाउनुभयो ।
थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तुका रुपमा रहेका छन् ।
Categorized in साहित्य-कला

