STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निजी पोखरीमा पौडी प्रतियोगिता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आजदेखि हुने ‘स्वीमिङ’ खेल निजी पौडी पोखरीमा हुने भएको छ । नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएपछि होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा हुने भएको छ । प्रदेश खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले शुरुआती चरणका खेलहरु होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा गरिने बताउनुभयो । 
उहाँले भन्नुभयो, “यहाँ हामीले आजैदेखि पानी भर्न शुरु गर्दैछौँ, शुरुआती चरणका खेलहरु कृष्णाको पौडी पोखरीमा हुनेछन् ।” अध्यक्ष वलीका अनुसार फाइनल खेल आफ्नै पौडी पोखरीमा सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनमा खानेपानी संस्थानले पौडी पोखरीको प्राविधिक जिम्मा लिएको उहाँले बताउनुभयो । उहाँले पानी भर्ने काम बाँकी रहेकाले शुरुआती चरणका खेलबाहिर गर्न लागिएको बताउनुभयो । 
हालसम्म पोखरी निर्माणमा रु १५ करोड रकम खर्च भइसकेको छ । निर्माणाधीन स्वीमिङ पुलमा प्रतियोगिता सञ्चालन गर्न नसकिएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य बताउनुहुन्छ । उहँँले भन्नुभयो, “प्रतियोगिताका लागि ठाउँ भइसकेको छ । पौडी पोखरी २५ मिटरको हुनुपर्ने मापदण्डअनुसार होटल सिग्नेटको पौडी पोखरी छनौट गरेका छौँ, आजदेखि खेल सञ्चालन हुनेछन् ।”
निर्माणको जिम्मा लिएको निकाय र प्रतियोगिता आयोजकको ढिलासुस्ती र लापरवाहीले पूर्वाधार समयमै नबनेको उहाँको भनाइ छ । नौ वर्षअघि शिलान्यास भएको पौडी पोखरी तत्कालीन राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिव युवराज लामाका पालामा निर्माण कार्य शुरु गरिएको थियो । 
बाँके जिल्ला पौडी सङ्घ अध्यक्ष गोबद्र्धन सिंह सम्झनाले राखेपको लापरवाहीका कारण समयमै पोखरी निर्माणको काम नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जब प्रतियोगिता नजिकिन्छ अनि हतारमा काम गर्ने नेपालीको चलन नै भइसक्यो । राखेपकै लापारवाहीका कारण समयमै पौडी पोखरी बन्न नसकेको हो ।” 
प्रतियोगिताका लागि पौडी पोखरी निर्माण सम्पन्न गर्न लापारवाही गरी प्रतियोगिता निजी होटलमा गर्ने तयारी गरिएको भन्दै नागरिकले राखेपको आलोचना गरेका छन् । “नौ वर्षसम्म के हेरेर बसेका थिए, खेल पदाधिकारीहरु रु” नेपालगञ्ज–१९ का श्याम गिरीले भन्नुभयो, “आठौँ होइन पहिले नै तयार हुनुपर्ने पोखरी निर्माणमा लापारवाही भयो । एक वर्षअघि खनेको पोखरीमा भ्यागुताले खेले । अहिले निजी पोखरीमा प्रतियोगिता गराउनुपर्ने अवस्था आयो ।” 
Categorized in खेलकुद