STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पञ्चेबाजासहित महानगरद्वारा रोपाइँ

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १५, शुक्रबार

राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडानं १२ स्थित बखरीमा सामूहिक रोपाइँ गरेको छ ।    पञ्चेबाजासहित गरिएको रोपाइँ कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समिति संयोजक श्याम घिमिरे, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हीरालाल कामत, वडासदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा आबद्ध व्यक्ति, कृषकलगायतको सहभागिता  थियो ।

सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो । उक्त दिवसका अवसरमा शुभकामना दिँदै महानगरप्रमुख कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

किसानले सहजरुपमा मल, सिँचाइ र बीउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउँदै उहाँले कृषिलाई यान्त्रीकीकरण गरेर उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो । चालीसको दशकसम्म नेपालले खाद्यान्न निर्यात गर्दै आएकामा अहिले वार्षिक रु छ खर्बभन्दा बढीको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता आउनुका कारण कृषिलाई उपेक्षा गरेकैले  हो भन्नुभयो ।

धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष वडा नं १८ मा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो । विगत केही दिनदेखि पूर्व क्षेत्रमा मौसम अनुकूल रहेको र वर्षा पनि भइरहेकाले रोपाइँमा धेरै सहज भएको कृषकको भनाइ थियो ।

Categorized in राष्ट्रिय