सय केजी सुन प्रकरणबारे गृहमन्त्रीसँग जवाफ माग गर्ने एमालेको निर्णय
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १०, बुधबार
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे जवाफ माग्ने भएको छ । बुधवार बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसद्मा राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।
‘सुन प्रकरणबारे गहिराइसम्म पुगेर गम्भीरतापूर्वक छानबिन हुनुपर्छ । भरियालाई मात्र होइन सुन ल्याउने मान्छे को हो त्यसको जडसम्म पुग्नुपर्छ’, बैठकपछि सांसद पन्तले भने, ‘ सुन तस्करीमा जो जो सामेल छन् उनीहरूलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ त्यसका लागि हामी जोडदार आवाज उठाउँछौ ।’
त्यस्तै उनले सरकारका मन्त्रीहरूले काम नगर्ने तर ठुला ठुला कुरा मात्र गरिरहेको बताए । ‘दोषी को हो त्यसलाई जनतासमक्ष ल्याउनुपर्यो र कानुनी कारबाही गर्नुपर्यो । संसद्मा हामी आफ्नो कुरा राख्छौँ, जवाफ कस्तो आउँछ थप कुरा त्यसपछि निर्णय गर्छौँ’, पन्तको भनाइ छ ।


