STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

७५ देखि १२५ वर्षमा फेवातालको अस्तित्व मेटिने !

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २, शनिबार

काठमाडौं - फेवा ताललाई पोखराको मुटु मानिन्छ । तर वर्सेनि फेवामा प्राकृतिक तथा मानवीय अतिक्रमण बढ्दो छ । केही अध्ययनले फेवा ताल अहिलेकै गतिमा घट्दै जाने हो भने इतिहासमा फेवा ताल पोखराको भूगोलबाट हराउन समेत सक्ने प्रक्षेपण गरिएका छन् । तर पनि यसलाई संरक्षण गर्नुपर्ने निकायहरु भने मौन छन् ।

फेवा तालको क्षेत्रफल वर्सेनि घट्दै गइरहेको छ । २०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको विशाल फेवा ताल अहिले ४ वर्ग किलोमिटरमा खुम्चिएको छ ।

जति पटक फेवा तालको क्षेत्रफल मापन गरिएको छ, त्यती नै पटक फेवाको क्षेत्रफल पनि घट्दै गएको छ । फेवा तालको क्षेत्रफल घट्नुमा प्राकृतिक कारणहरुसंगै मानवीय अतिक्रमण पनि देखिन्छ ।

विभिन्न अध्ययन प्रतिवेदन अनुसार अहिलेकै गतिमा अतिक्रमण गरिएमा ७५ वर्षदेखि १२५ वर्षमा फेवा अहिलेको अस्तित्वबाट पुरै नामेट हुनेछ ।

फेवा अहिलेको अस्तित्वबाटै हराउन एक शताब्दीको हाराहारीको समय लाग्ने विभिन्न अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमै उल्लेख भएजस्तो फेवा पुरै पुरिएर विशाल मैदानमा परिणत भयो भने अहिलेको जस्तो चलायमान र गुल्जार पोखरा बन्ला त ?

भन्ने प्रश्नहरु उब्जिएका छन् । पर्यटनको राजधानी शहर पोखरा भन्दै आएका पोखरेलीको आर्थिक, सामाजिक तथा वातावरणीय अवस्थामा समेत ठुलो प्रभाव पर्ने भन्दै यस्तो परिकल्पना समेत गर्न नसकिने फेवा संरक्षणकर्मीहरु बताउँछन् ।

फेवा तालको मौलिकता र गुण हराउँदै जाँदा पनि स्थानीय पर्यटन व्यवसायीहरु नै फेवालाई सिध्याउँन तछाड मछाड गरिरहेका छन् । प्राकृतिक रुपमा संकटउन्मुख बनेको फेवालाई संरक्षण गरेर बचाई राख्नुको सट्टा स्थानीयले नै तालमै ढल मिसाएर प्रदुषित बनाइदिएका छन् ।

फेवाका विभिन्न किनारबाट सिँचाइ कुलो, ढलकुलाहरु फेवामा मिसिन्छ । तर तालको अतिक्रमण रोक्न स्थानीय, महानगरपालिका र सरोकारवालाले सकिरहेका छैनन् ।

पछिल्लो समय फेवाको पानी प्रदुषित मात्रै नभई भविष्यमा पोखराको वातावरण नै धुमिल हुने संकेतहरु समेत देखिँदै गएका छन् ।

फेवामा आश्रित स्थानीय जलचरहरु हराईसकेका छन् भने फेवा आसपासमा देखिने चराहरुसमेत अहिले देखिन छाडेका छन् ।

विगतको तुलनामा पोखराको तापक्रमसमेत बढ्दै गएको छ । फेवा नै लोप भयो भने पोखराका अन्य जलकेन्द्रहरु समेत क्रमशः हराउँदै जाने यस सम्बन्धी जानकारहरुको बुझाइ छ ।

त्यसैले यस्तो भयानक अवस्थाबाट जोगिन बेलैमा सबै क्षेत्रका मानिसहरु सचेत भएर फेवा संरक्षणमा जुट्नुको विकल्प देखिदैन ।

Categorized in राष्ट्रिय