STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सन्दीपविरुद्धको मुद्दामा किशोरीको तर्फबाट सकियो बहस

Janjati Khabar – Janjati Khabar | २०८० पौष ११, बुधबार

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाला किशोरीको तर्फबाट बहस सकिएको छ।

यो मुद्दामा आइतबारबाट जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। 

यस्तै जाहेरवाला गौशला २६ कै तर्फबाट अधिवक्ताहरु मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायाण चौलागाईँ, प्रतिमा कडेल  खरेल र लेखनाथ भट्टराईले बहस गरेका छन्। 

उनीहरुको बहस सकिएपछि आजैबाट सन्दीप लामिछानेको तर्फबाट बहस सुरु भएको छ। बिहीबार पनि सन्दीपकै तर्फबाट बहस हुनेछ। बहस सकिए बिहीबार नै नभए शुक्रबार फैसला हुने सम्भावना छ। 

२०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले पुर्पक्षका लागि सुरुमा थुनामा पठाउने आदेश दिएको थियो।

तर सन्दीपलाई थुनामा पठाउने जिल्लाको आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा छाडेको थियो। सर्वोच्चबाट पनि धरौटीमा रिहा गर्ने आदेश नै सदर भएपछि सन्दीप थुनाबाहिरै रहेर मुद्दाको अन्तिम सुनुवाइ अगाडि बढेको हो।

जाहेरीमा पीडित नाबालिग रहेको दाबीसहित सन्दीपलाई १० देखि १२ वर्षसम्म कैदको माग गरिएको छ। सन्दीपले भने बलात्कार गरेको अस्वीकार गर्दै जाहेरवाला नाबालिग समेत नभएको दाबी गरिरहेका छन्।

Categorized in राष्ट्रिय